काठमाण्डौ । नेपाल सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।
शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित हस्ताक्षर कार्यक्रममा नेपाल सरकार र विप्लव नेतृत्वको नेकपा पार्टीका वार्ता टोलीका सदस्यहरुले ३ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
सरकार र विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीबीच देशको राजनीतिक समस्या वार्तामार्फत समाधान खोज्ने, नेकपाले राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारले नेकपाका माथि लगाएको प्रतिबन्ध हटाई कारागारमा भएका नेता कार्यकर्ताको रिहाइ गर्ने सहमति भएको हो ।
सहमति पत्रमा भनिएको छ, ‘दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौं ।’ विप्लवका सबै राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको छ । हस्ताक्षर कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत सरकारका मन्त्रीहरुको उपस्थिति थियो ।
सरकारले गृहमन्त्री रामबहादुर थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । विप्लव समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) र उदयबहादुर चलाउने (दिपक) सम्मिलित वार्ता टोली बनाएको थियो । दुवै तर्फका वार्ता टोलीले वार्ता गरी बिहीबार सहमति गरेका थिए ।
उक्त सहमतिलाई शुक्रबार विशेष समारोहका बीच हस्ताक्षर सहित सार्वजनिक गरिएको हो । हस्ताक्षर समारोहमा सरकारका वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका विदेश सल्लाहाकार भट्टराईले विगत एक वर्षदेखिको निरन्तरको प्रयास पछि वार्ता निष्कर्षमा पुगेको बताए ।
–फरकधार
प्रतिक्रिया