ताजा समाचार


५५ वर्ष माथिकालाई दिइने भनेर गरिएको निर्णयलाई संसोधन गरी ६५ वर्ष पुर्याइयो

द रियल समाचार     २०७७ फाल्गुन २१, शुक्रबार, १२: ४४ मा प्रकाशित




काठमाण्डौ । सरकारले फागुन २३ गतेदेखि सुरु गर्न लागेको कोभिडविरुद्धको खोपको दोस्रो चरणको अभियानमा पहिलो प्राथमिकतामा ६५ वर्ष माथिकालाई राखेको छ ।

तोकिएको समयमा सम्झौता अनुसारको खोप नआएपछि यसअघि ५५ वर्ष माथिकालाई दिइने भनेर गरिएको निर्णयलाई संसोधन गरी ६५ वर्ष पुर्याइएको हो । यसअघि ६० वर्ष माथिकालाई खोप दिने तयारी गरेपनि संशोधन गरेर ५५ वर्ष पुर्याइएको थियो ।

सरकारले दुई साताभित्र २० लाख डोज कोभिसिल्ड ल्याइपुर्याउने गरी सिरम इन्स्टिच्युट अफ इन्डियालाई अग्रिम भुक्तानी गरेको थियो । सिरमले सम्झौताअनुसार १० लाख डोज पठाए पनि दोस्रो डोज समयमै पठाउन नसकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले बताए । सोही कारण खोपको उपलव्धता अनुसार दोस्रो चरणको पहिलो प्राथमिकतामा ६५ वर्ष माथिकाहरुलाई राखिएको हो ।

सिंहले ८–१० दिनमा यो उमेर समूहकाले पाइसक्दा थप खोप पनि आइसक्ने भएकाले सोहीअनुसार योजना परिवर्तन गरिएको बताए । ‘सिरमले सम्झौताअनुसार बुधबारसम्म थप १० लाख डोज पठाउनै पर्ने थियो । तर पठाउन सकेन । अब आउँदो आइतबारसम्म पठाउँछु भनेर आश्वासन दिएको छ,’ महानिर्देशक सिंहले भने ।

यता स्वास्थ्य मन्त्रालयमा बिहीबार बसेको मन्त्री, सचिव, प्रमुख विशेषज्ञ, विज्ञहरु सम्मिलित बैठकले हिमाली जिल्ला र हिमाली भेगमा भने २३ फागुनदेखि नै ५५ वर्ष माथिकालाई खोप दिने निर्णय गरेको छ ।

महानिर्देशक डा सिंहले शिक्षक, प्राध्यापक तथा सवारी चालकहरुलाई पनि ६५ वर्ष माथिको उमेर समूहले खोप पाइसकेपछि मात्रै दिने योजना बनाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top