ताजा समाचार


साहित्य महोत्सवको दोस्रो दिन : जानकी मन्थन र मैथिली साहित्यको इतिहासमाथी बहसदेखि एसीड पीडित आरतीको आक्रोशसम्म

द रियल समाचार     २०७७ फाल्गुन २०, बिहीबार, १९: १८ मा प्रकाशित




जनकपुृरधाम । जनकपुरधाममा जारी जननकपुर साहित्य महोत्सवको दोस्रो दिन यहाँको भाषा तथा संस्कृतिको इतिहास, माता जानकी, यहाँको पर्यटनका साथै एसीड पीडित आरती साहको आक्रोश लगायतका विषयमा गन्थन मन्थन गरिएको छ ।
जानकी मन्थन शिर्षकको सत्रबाट जनकपुर साहित्य महोत्सवको दोस्रो दिनको शुभारम्भ भयो । जसमा मैथिलीका बरिष्ठ साहित्यकार डा. राजेन्द्र प्रसाद विमलले माता जानकीको जन्म, चरित्र तथा नारीत्वको विषयमा आफ्नो मन्तव्य राखे । साहित्यकार डा. विमलले माता जानकीले सम्पूर्ण नारीमात्र नभई मानवजगतलाई त्याग र संयमताको भाव सिकाएको बताए ।
जानकीको विषयमाथी चर्चा गरिरहँदा साहित्यकार विमलले मिथिलाको विषयमा समेत चर्चा गरेका थिए । उनले रामराज्य अर्थात सुशासनको नमूना मिथिलाले नै दिएको बताए । उनले भने,‘भगवान रामले अयोध्यामा शासन गरेपछि मात्रै रामराज्यको चर्चा भयो र उनी असल राजाको छवि बनाउन सफल भए, भगवान राम मिथिलाबाटै सुशासनको कला सिकेर अयोध्यामा लागु गरे ।’
जानकी मन्थन सत्र समाप्त भएलगत्तै जनकपुरधामको पर्यटनलाई बढावा दिने उद्देश्यले राखिएको ‘जाऔँ जनकपुर सुदर्शनजीसंग’ सत्रमा भने मानसी अग्रवालले जनकपुरधाममा पर्यटनको प्रचुर सम्भावना रहेको बताइन् । जनकपुरधामको पहिलो टुरिष्ट गाइड सुदर्शनलाल कर्णसंग कुरा गरिरहँदा अग्रवालले जनकपुरधामको सौन्दर्यताको वर्णन गरिन । यद्यपि पर्यटकलाई जनकपुरधाममै टिकाउनका लागि कुनै पनि ठोस योजना नरहेकोमा चिन्ता व्यक्त गरिन् ।
आफू नेपालको मानाङ्ग मुस्ताङ्ग, रारा ताल र जनकपुरधाम घुम्न लालायित रहेको र जनकपुरधाम आएपछि यो सपना साकार भएको बताउँदै यहाँका मन्दिरहरुमा रहेका मनमोहक कलाकृतिले आकर्षित गरेको बताइन् । मानसीले यहाँको लोक नृत्य झिझिया, मिथिला चित्रकला र लस्सी असाध्यै मन परेको अनुभव समेत सुनाइन् । उनले भनिन्,‘यी तीन चिजले मलाई यति आकर्षित गर्यो ।’ यद्यपि जनकपुरधामका यी धरोहरहरुलाई प्रचार प्रसार गर्न नसक्दा जनकपुरधामको पर्यटनलाई फडको मार्न नसकेको मानसीले बताइन् ।
एसीड पीडित आरतीको आक्रोश
जनकपुरधाममा जारी जनकपुर साहित्य महोत्सवमा ‘सौन्दर्य भित्र : सौन्दर्य बाहिर’ सत्रमा एसीड आक्रमणबाट पीडित आरती साह पनि सहभागी थिइन् ।
आरतीले सो सत्रमा आफ्नो विचार राख्दै गर्दा एसीड फाल्नेलाई जस्तै एसीड बेच्नेलाई पनि कडा कारबाही हुनुपर्ने माग गरेकी छन् । उनले एसीड फाल्ने तथा एसीड बेच्ने दूबैलाई जन्मकैदको सजाय हुनुपर्ने माग गरिन् । उनले भनिन्,‘ एसीड फाल्ने मेरो श्रीमानकै कारण मात्र नभई एसीड बिक्री गर्ने व्यापारीका कारण समेत मेरो यस्तो अवस्था आएको र यस्तो दुःखदायक पीडा मेरो अन्य कुनै बहिनीलाई नहोस ।’
आरतीले बिना लाइसेन्स पनि व्यापारीहरु एसीड बिक्री गरिरहेकाले एसीड फाल्ने घटना बढि रहेको भन्दै आक्रोश व्यक्त गरिन् । आफ्नो पुरानो तस्वीर सहित पुगेकी आरतीले तस्वीर देखाउँदै भनिन्,‘यो आरती मरिसकेको छ, अब यो आरती जीवित छ । अब जे मेरो स्वरुप छ त्यो स्वरुपमा बाँच्नका लागि समाजको सहयोगको आवश्यक्ता छ ।’आरतीलाई अदालतमा हौसला प्रदान गर्नका लागि आफू जनकपुरधाम आएको सामाजिक अभियन्ता उज्जवल थापाले बताए । उनले आरतीको लागि आफू सुपरम्यान रहेको भन्दै उनले आरतीलाई हरसम्भव सहयोग गर्न पछाडी नपर्ने बताए । आरतीले पनि उज्जवलतर्फ हात देखाउँदै उनी मेरो ठुलो बुवा हुन् र उनकै बदौलत आफू अहिले जिवित रहेको सुनाइन ।
डा. रामावतार यादव र रोशन जनकपुरीको बहस
‘मैथिली साहित्यको इतिहास’ सत्रमा डा. रामावतार यादव र रोशन जनकपुरीले बहस गरेका थिए । डा. यादवले मैथिली भाषामाथी आफ्नैले पटक पटक आक्रमण गर्दा यसले आफ्नो समृद्धि गुमाउँदै गएको तितो यथार्थ हामी सामु रहेको बताए ।
उनले मैथिली भाषा मेरो हो भन्नेहरुले नै यसको संरक्षण तथा सम्वद्र्धनका लागि अगाडी नआएपछि यस्तो अवस्था श्रृजना भएको बताए । उनले भने, ‘मैथिली भाषाको मिठास अझै जीवित छ भने यसको श्रेय विदेशी विद्वानहरुको हातमा जान्छ न कि हाम्रो ।’ सोही सत्रमा साहित्यकार जनकपुरीले मैथिली भाषाको निजत्व अहिलेपनि गाउँ घरमा रहेका कथित तल्लो तप्काका व्यक्ति, मजदुर किसानहरुले बचाएको बताए ।
उनले मैथिली भाषामा संस्कृत भाषा हावी हुँदै गएपछि यसले आफ्नो निजत्व गुमाएको यथार्थ सबैले स्वीकार गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top