ताजा समाचार


विभिन्न व्यक्तिको करोडौं रुपैयाँ लिएर राजविराजका दुई दाजुभाई फरार

द रियल समाचार     २०७७ फाल्गुन २०, बिहीबार, १२: २० मा प्रकाशित




सप्तरी । विदेशमा आफन्तले कमाएर पठाएको विभिन्न व्यक्तिको करोडौं रुपैयाँ लिएर राजविराजका दुई दाजुभाई सम्पर्कविहिन भएका छन् ।

राजविराज नगरपालिका–७ स्थित गजेन्द्रचोकमा कपडा पसल र आइएमइको शाखा समेत खोलेर कारोबार सञ्चालन गर्दै आएका सुनिल सिन्धी र उनका भाई संजय सिन्धी तीनदिन देखी करोडौं रकम लिएर सम्पर्कबिहीन भएका हुन् ।

आफ्नो नाममा भएको सबै सम्पत्ति गोप्य ढंगले बिक्रि गरिसकेका सिन्धी दाजुभाई ठूलो रकम हिनामिना गरि फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । विदेशबाट पठाएको पैसा आफन्तले लिन जाँदा तिन दिन अघि कतिपयसँग भुक्तानी लिएको रसिदमा सही छाप गराएर पनि कहिले कम्प्युटर खराब भयो, त कहिले नेट बिक्रेको छ भन्दै भुक्तानी नदिएर भोलीपर्सी आउनु भनी फर्काइदिने गरेकोमा अहिले फरार भएपछि आफूहरु बिचल्लीमा परेको पीडितहरुले बताए ।

पीडित मध्येका विष्णुपुर गाउँपालिका–७ का बिन्देश्वर मण्डलले मलेशियाबाट छोरा प्रमोदले २ लाख १८ हजार रुपैयाँ पठाएको बताए । उनले भने, ‘पैसा भुक्तानी लिन आउँदा कागजमा पहिले नै सही गराएपनि दुई दिनपछि आउन भन्दै भुक्तानी दिएनन्, फेरी बुधबार बोलाए तर, बुधबार आउँदा दाजुभाई नै फरार भइसकेको थाहा पाएपछि हामी निकै समस्यामा परेका छौं ।’

त्यस्तै डाक्नेश्वरी नगरपालिका–२ की लालो खतुनले पनि बहिनीको विवाहका लागि छोराले कतारबाट आफ्नो नाममा पठाएको ९ लाख रुँपैया एक साता अघि नै भुक्तानी लिन आएकोमा, विहेको बेलामा लैजानु होला पैसा यही सुरक्षित रहन्छ भन्दै आइएमइका सञ्चालक सिन्धी दाजुभाईले भनेपछि निज कहाँ नै छाडेको पैसा सात दिनपछि लिन आउँदा अफिस नै बन्द गरि फरार रहेको देख्दा आफ्नो होसहवासै उडेको उनले रुदै सुनाईन् ।

यस्तै महदेवा गाउँपालिका–२ का बिनोद मण्डल, श्यामादेवी मण्डल, बिष्णुपुर गाउँपालिकाका रामप्रित यादव, राजगढ गाउँपालिकाका दिनेश मण्डल, राजविराज– ७ का श्रवण दास, डाक्नेश्वर नगरपालिका–५ का महेश महतो, सत्रुधन मण्डल लगायतका गरि २ करोड भन्दा बढी रकम भुक्तानी नपाएको भन्दै बुधबार प्रहरीमा उजुरी दिएका छन् । यस्तै भुक्तानी लिन बाँकी रहेकाहरु ठूलो संख्यामा आउने क्रम जारि नै रहेकाले ५० करोड भन्दा बढी रकम घोटला भएको अनुमान गरिएको छ ।

जग्गा कारोबारी समेत रहेका आइएमइ सञ्चालक दुबै दाजुभाईले प्रयोग गर्ने मोबाइलहरु लगातार स्विच अफ रहनु तथा फरार भएपछि अहिले उजुरी दिन जिल्ला प्रहरी कार्यालय सप्तरीमा पीडितहरुको ओइरो लागेको छ ।

डिएसपी भुवनेश्वर साहले पीडितहरु सबैको जाहेरी लिने कामसँगै यस बारे आवश्यक अनुसन्धान पनि सुरु गरिएको बताए ।
–सप्तरीटुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top