ताजा समाचार


दलित विकास समितिका पदाधिकारीलाई नियुक्तीपत्र हस्तान्तरण

द रियल समाचार     २०७७ फाल्गुन १९, बुधबार, १९: ३९ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ सरकारले गठन गरेको दलित विकास समितिका पदाधिकारी र सदस्यहरुलाई आज नियुक्ती पत्र हस्तान्तरण गरिएको छ ।

सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले उनीहरुलाई नियुक्तीपत्र हस्तान्तरण गरेका हुन् । नियुक्तीपत्र हस्तान्तरण गर्दै मुख्यमन्त्री राउतले दलितहरुको पहिचान र अधिकार संरक्षित गर्न समितिले प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे ।

प्रदेशमा रहेका १८ प्रतिशत दलित समुदायको पहिचान र अधिकार संरक्षित गर्नको लागि सरकारले दलित सशक्तीकरण ऐन ल्याएको उनले बताए । २१औं शताब्दीमा पनि छुवाछुत जस्ता अमानवीय व्यवहार झेलिरहेका दलित समुदायको अझै राज्यको निकायमा प्रतिनिधित्व हुन नसकेको मुख्यमन्त्री राउतले जिकिर गरे । दलित विकास समितिलाई हरसम्भव सहयोग गर्ने जानकारी दिंदै उनले तत्काल कार्य अगाडी बढाउन निर्देशन समेत दिए । समितिमा प्रतिनिधित्व हुन नसकेको दलित समुदायको पनि सम्मान गरेर अघि बढ्न मुख्यमन्त्री राउतले समितिलाई निर्देशन दिए ।

समितिका अध्यक्ष समेत रहेका सामाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री राउतले दलित सशक्तीकरण सम्बन्धी ऐनले दलित समुदायको अधिकारलाई सुरक्षित गरेको दावी समेत गरे । समितिका उपाध्यक्ष रामप्रवेश बैठा, सदस्यहरु सेबकी देवी दास, श्यामसुन्दर सरदार, राजकुमार दास तत्मा र सुनिता मरिकलाई नियुक्तीपत्र हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा सामाजिक विकास मन्त्री साहले नवनियुक्त पदाधिकारी र सदस्यहरुलाई शुभकामना दिंदै सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्य अशोक यादव, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद कापडी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top