जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि भारतको उत्तरप्रदेशस्थित अयोध्यासम्म हवाई सेवा सञ्चालनको तयारी सुरु भएको छ ।
नेपालस्थित बुद्ध एयरले हवाई सेवा सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ ।
सहजीकरणका लागि यी दुई शहरबीच उडान भर्नका निमित्त प्रदेश २ सरकारसँग समेत आग्रह गरिएको कम्पनीका एक अधिकारीले जानकारी दिए ।
उनले भने, ‘जनकपुरधामदेखि अयोध्यासम्मको उडानमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत चासो रहेका कारण अयोध्यातर्फ अनुमति प्राप्त हुने विश्वास छ । अयोध्यामा राम मन्दिर बनिरहेको छ, जनकपुर सीताको माइती शहर हो ।’
कम्पनीले यसअघि काठमाडौंबाट वनारसका लागि सिधा उडान गरिरहेको थियो । त्यस रुटको उडान लकडाउन र प्रतिबन्धपछि झिकिएको थियो । त्यसअघि बुद्धले कलकत्ता उडानमा समेत हात हालेको थियो । यो रुटमा अपेक्षित सफलता प्राप्त भएन । तर, जनकपुर-अयोध्या उडानमा भने पर्याप्त यात्रु पाउने अपेक्षा कम्पनीको छ ।
बुद्ध एयरका अनुसार जनकपुरबाट अयोध्या उडान ५० मिनेटको हुने भएको छ । आन्तरिक तयारी शुरु भएको र अयोध्यामा आन्तरिक विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने काम भइरहेका कारण निकट भविष्यमा यस रुटमा उडान गरिने कम्पनीले जनाएको छ ।
भारतले नै बनाएको रामायण सर्किटको एक महत्वपूर्ण अंश जनकपुर पनि हो । यसले समेत भारतीय र नेपाली पर्यटकलाई सेवा दिन सहज हुने कम्पनीले जनाए ।
प्रतिक्रिया