ताजा समाचार


दोस्रो चौमासिकसम्म प्रदेश २ सरकारको विकास खर्च निराशाजनक

द रियल समाचार     २०७७ फाल्गुन १९, बुधबार, १५: ५३ मा प्रकाशित




जनकपुरधाम । चालू आर्थिक वर्ष २०७७/०७८ को दोस्रो चौमासिकसम्म प्रदेश २ सरकारको विकास खर्च निराशाजनक देखिएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको माघ मसान्तसम्म विकास बजेटको साढे ९ प्रतिशत रकम मात्र खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले विभिन्न मन्त्रालय र निकायको चालु खर्चतर्फ ११.८ प्रतिशत र पुँजीगततर्फ ८.४५ प्रतिशत गरी औसत साढे ९ प्रतिशत बजेट खर्च गरेका हुन ।

पुँजीगत तर्फ कुल १९ अर्ब १७ करोड ९८ लाख ९३ हजारमध्ये १ अर्ब ६२ करोड र चालु खर्चतर्फ १४ अर्ब ४० करोडमध्ये १ अर्ब १४ करोड रुपैयाँको हाराहारीमा खर्च भएको हो । प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको जानकारी अनुसार सबभन्दा बढी प्रदेश सभाले २४.५१ प्रतिशत र सबभन्दा कम आन्तरिक मामिला तथा कानून मन्त्रालयले ४.२४ प्रतिशत रकम खर्च गरेको हो । त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ४.८५ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले १२.१ प्रतिशत र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ९.९ प्रतिशत बजेट खर्च गरेको छ ।

त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ५.२५ प्रतिशत, भौतिक पुर्वाधार विकास मन्त्रालयले १४.११ प्रतिशत र सामाजिक विकास मन्त्रालयले १३.९९ प्रतिशत, प्रदेश सरकार मातहतका लोक सेवा आयोगको कार्यालयले १९.६ र मुख्यन्यायाधिवक्ताको कार्यालयले २३.७ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत मनोज झाले जानकारी दिए ।

लेखा अधिकृत झाले दोस्रो चौमासिकसम्म ३५ देखि ४० प्रतिशतसम्म बजेट खर्च भइसक्नुपर्नेमा कोरोनाको प्रभावले गर्दा बजेट खर्च सम्बन्धित निकायबाट सुस्त गतिमा भएको बताए । उनले भने,‘ बजेट निकासा र अख्तियारीमा ढिलाई हुने परिपाटीले गर्दा बजेटको अधिकांश रकम अन्तिम चौमासिकमा खर्च हुने गर्दा पनि सुस्त देखिएको हो ।’

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले परम्परागत निती ढिलो गरी अख्तियारी र कोरोनाको प्रभावले गर्दा चालु आर्थिक वर्षमा बजेट खर्च न्यून देखिएको बताए । उनले भने,‘ दोस्रो चौमासिकसम्म बजेट खर्च न्यून देखिएपनि आर्थिक मसान्तसम्म अन्य वर्षको तुलनामा बढी खर्च गरिनेछ ।’

यसअघि पछिल्लो आर्थिक वर्ष २०७६/०७७ मा समेत प्रदेश २ सरकारले कुल बजेटको ४६.९५ प्रतिशत मात्र खर्च गर्न सकेको थियो ।
–फरकधार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top