ताजा समाचार


प्रमुख सचेतकमा भट्टराईलाई मान्यता, सुविधा फिर्ता गर्न गुरुङलाई पत्राचार

द रियल समाचार     २०७७ फाल्गुन १९, बुधबार, १४: ४० मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकका रुपमा संसद सचिवालयले विशाल भट्टराईलाई मान्यता दिएको छ ।

फागुन १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतकमा नियुक्त गरेका खोटाङबाट निर्वाचित सांसद भट्टराईलाई संसद सचिवालयले मान्यता दिएको हो ।

नेकपा कानुनी रुपमा विभाजित नभइसकेको अवस्थामा संसदीय दलको नेता केपी शर्मा ओली र उपनेतामा सुवास नेम्बाङ कायमै छन् । पार्टी दुई समूहमा बाँडिए पनि निर्वाचन आयोगले विभाजनलाई मान्यता दिइनसकेकाले यसअघिका प्रमुख सचेतक देव गुरुङको सुविधा खोसिएको छ । गुरुङ अहिले नेकपा दाहाल–नेपाल समूहतिर लागेका छन् ।

संघीय संसद सचिवालयले भट्टराईको नियुक्तिलाई नै आधिकारिकता दिँदै रेकर्डमा राखिसकेको छ । तर पुस ७ नेकपा दाहाल–नेपाल समूहमा दलका नेता बनेका पुष्पकमल दाहाल प्रचण्डले अझैसम्म मान्यता पाएका छैनन् । कानुनी रुपमा नेकपा एउटै रहेकाले दाहालले मान्यता नपाएका हुन् ।

भट्टराईलाई आधिकारिकता दिएसँगै प्रमुख सचेतकलाई संसद सचिवालयले दिने कार्यकक्ष, गाडीसहितका सुविधा पनि उनैले पाउने भएका छन् । भट्टराईले आधिकारिकता पाएपछि संसद सचिवालयले यसअघिका प्रमुख सचेतक देव गुरुङलाई सरकारी गाडीसहितका सुविधा फिर्ता गर्न पत्र काटेको छ ।

प्रतिनिधिसभा विघटन भएसँगै गुरुङ दाहाल–नेपालतिर लागेर आफूविरुद्ध बोल्न थालेपछि ओलीले उनलाई बर्खास्त गरेर भट्टराईलाई प्रमुख सचेतक बनाएका थिए । प्रमुख सचेतकले नेकपाका सांसदलाई संसदीय दलका नेताको आदेशमा ह्वीप जारी गर्नेछन् । यदि त्यो ह्वीप नमानेको अवस्थामा सांसदहरुमाथि कारवाही सिफारिश गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top