काठमाण्डौ । संघीय संसदका सबै सांसदहरुलाई आज कोरोनाविरुद्धको खोप लगाइँदैछ । नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालमा कोरोना खोप लगाउने संघीय संसद सचिवालयले जनाएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले समेत कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
सिभिल अस्पतालमा सभामुख अग्निप्रसाद सापकोटासँगै अध्यक्षद्वयले खोप लगाएका हुन् । यस्तै नेकपा संसदीय दलका पूर्वप्रमुख सचेतक देव गुरुङले पनि खोप लगाएका छन् ।
सचिवालयका अनुसार बिहान १० बजेदेखि सुरु भएर दिउँसो ४ बजेसम्म प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका सांसदहरुलाई खोप लगाइनेछ ।
यस्तै, प्रतिनिधि सभा र राष्ट्रिय सभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारी, मर्यादापालकलाई पनि खोप लगाइने सचिवालयले जनाएको छ ।
भोली बिहीबार संसद सचिवालयका सबै कर्मचारी, स्वकीय सचिवलगायतका सबै कर्मचारी, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलाई खोप लगाउने तय भएको सचिवालयले जनाएको छ ।
त्यसपछि २१ गते शुक्रबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारी तथा बुधबार र बिहीबार खोप लगाउन छुटेकालाई खोप लगाइने संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया