काठमाण्डौ । सरकारले थप ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद गर्न लागेको छ । खोप खरिद गर्नका लागि प्रक्रिया समेत सुरु भईसकेको बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले भने,‘ मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा थप खोप खरिदका लागि प्रक्रिया सुरु भइसकेको छ । हामीले थप ५० लाख डोज खरिदका लागि प्रक्रिया शुरु गरिसकेका छौं ।’
हालससम्म नेपालले जिटुजी मार्फत २० लाख डोज खोप खरिद गरिसकेको छ । जसमध्ये १० लाख डोज नेपाल ल्याइसकिएको छ भने बाँकी १० लाख डोज ल्याउन बाँकी रहेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले ३ लाख डोज खोप यही साताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउने जानकारी दिए ।
भारतले १० लाख डोज र चीनले ८ लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका छन् । हाल मन्त्रालयसँग रहेको र बाँकी खोप खरिद गरी १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने सचिव लक्ष्मण अर्यालले जानकारी दिए ।
प्रतिक्रिया