ताजा समाचार


८ लाख घुस प्रकरण : बटेश्वरबासी आन्दोलित, अध्यक्ष फरार

द रियल समाचार     २०७७ फाल्गुन १८, मंगलवार, १८: ५२ मा प्रकाशित




जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीले भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग कमिसन वापत लिएको ८ लाख रुपैयाँका कारण बटेश्वर गाउँबासी अहिले आन्दोलित भएका छन् ।

अध्यक्ष क्षेत्रीलाई यथाशिघ्र समात्नुपर्ने माग गर्दै स्थानीयले गाउँपालिकाको कार्यालयमा मंगलबार तालाबन्दी समेत गरेका छन् । उनीहरुले डम्बर बहादुर राउत क्षेत्री चोर अध्यक्ष, भ्रष्टाचारी बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर क्षेत्रीलाई कारबाही गर, ८ लाख घुस लिने घुसखोरी राउत मुर्दावादलगायतका नारा लेखिएका पानाहरु उनको कार्यकक्षमा टाँसेका छन् ।

उनीहरुले कार्यालय अगाडी धर्ना समेत दिएका हुन् । अध्यक्ष क्षेत्रीले भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग कमिसन वापत ८ लाख रुपैयाँ लिएका थिए । विभिन्न राजनीतिक दलमा आबद्ध स्थानीय नेताकार्यकर्ता, नागरिक समाज तथा त्यहाँका सर्वसाधारणले भ्रष्ट अध्यक्षलाई पक्राउ गर्न माग गर्दै आन्दोलित भएका हुन् ।

बटेश्वर गाउँपालिकाका हरेक योजनामा अध्यक्ष क्षेत्रीले व्यापक कमिसन लिएको आरोप लगाउँदै उनीहरुले हरेक विकासे योजनाको फाइल नियन्त्रणमा लिई थप अनुसन्धान गर्न समेत अख्तियारसँग माग गरेका छन् ।

स्थानीय नेता कुशेश्वर महतोले भने, ‘उनले एउटै योजनाको भुक्तानीमा ८ लाख रुपैँया लिएका छन् । झन अरु योजनाहरुमा कति लिन्छन् होला । भ्रष्टाचार गरी काठमाडौंमा पनि आफन्तको नाममा करोडौंको जग्गा जोडेका छन् । उनीमाथि सम्पति शुद्धीकरण हुनुपर्दछ ।’

यसरी भएको थियो घटना
बटेश्वर गाउँपालिका कार्यालयको प्राङ्गणमा नवनिर्मित भवनको भुक्तानीका लागि ठेकेदारसँग उनले मोटो रकम कमिसन मागेका थिए । ठेकेदार बाध्य भएर राउतलाई कमिसन दिन तयार भए । अख्तियारले यो विषयमा जानकारी पायो ।

सोमबार अपराहन्न ४ बजे सोहि रकम लिन गाउँपालिका अध्यक्ष राउत चढ्ने गाउँपालिकाको प्रदेश २–००२–००१ झ ०००२ नम्बरको गाडीमा सबार भएर धनुषाको महेन्द्रनगर पुगे । ठेकेदारबाट ८ लाख कमिसन लिए । कमिसन रकम लिएर गाडीमा प्रवेश गरेपछि उनले आफुलाई अख्तियारले पछ्याएको सुइको पाए । चालकलाई इशारा गर्दै तिव्र गतिमा गाडी चलाएर खोला हुँदै गाउँपालिका तिर भाग्न निर्देशन दिए ।
चालकले तिव्रगतिमा गाडी कुदाउँदै पुलबाट नभएर चौरको बाटो खोला हुँदै भागे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय टंगालको टोलिले पछ्यायो । भाग्ने क्रममा अध्यक्ष राउतले आठ सो रकम भएको झोला औरही खोलाकै पारी पुगेर झाडीमा फाले । अख्तियारले झोला फेला पारे । अध्यक्ष राउत सवार गाडी तिव्र गतिमा कुदाएर चालक वीरबहादुर मगरले बाटोमा गएर अध्यक्षलाई हाम फालेर भाग्न सघाए । अध्यक्ष फरार भए । त्यहाँबाट चालकले झनै गतिमा गाडी चलाएर बटेश्वर बजार तर्फ भागे र गाउँपालिका कार्यालयको पछाडिमा अख्तियारले उनलाई नियन्त्रणमा लियो ।

फरार अध्यक्ष राउतलाई खोज्न अख्तियारले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय सुखवा महेन्द्रनगर र इलाका प्रहरी कार्यालय ढल्केबरको प्रहरी टोलिको समेत सहयोग लियो । व्यापक खोजतलास गर्दा समेत राउत फेला परेनन् । अख्तियारको टोलीले राति बटेश्वर बजारको टावर होटेल नजिक पक्राउ गरेको गाडी र चालक भएकै ठाउँमा मुचुल्का बनाउन सुरु गरे ।

राति झण्डै १ बजे स्थानीय र जनप्रतिनिधको रोहबरमा सम्पूर्ण प्रमाणसहित मुचुल्का गरियो । नियन्त्रणमा लिइएको गाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रनारायण यादवको जिम्मा लगाइयो । यता, फरार अध्यक्ष राउतको खोजी कार्य भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिमालले जानकारी दिए ।

स्थानीयको यस्तो आरोप
अध्यक्ष क्षेत्रीले सबै योजनामा ठेकेदार, उपभोक्ता समिती तथा कर्मचारीलाई थर्काउँदै व्यापक कमिसन अशुल गरिरहेको स्थानीयको आरोप छ ।

निर्वाचित भएका बेलादेखि उनको हाउभाउ र बोलिवचन तथा सर्वसाधारणलाई गर्ने व्यवहार अस्वभाविक रुपमा परिवर्तन हुँदै गयो । पछिल्लो समय उनी राणकालिन जस्तै सर्वसाधारणसंग हेपेर कुरा गर्ने, कतिपय जेष्ठनागरिकलाई तँ तिमी भन्ने, प्रायः जसो सार्वजनिक स्थलमा पनि अपशब्द प्रयोग गर्ने जस्ता छुद्र व्यवहारको कारण उनको आलोचना हुँदै आएको थियो ।

उनले एकवर्ष अघि गाउँभित्रकै बडहडी खोला कमिसनको सेटिंगमा अवैध उत्खनन गराएर वडा नं. १ को विजयपुर गाउँलाई धरापमा पारेपछि गाउँपालिकामा ज्ञापनपत्र बुझाउन आएका गाउँलेलाई त्यति बेला उनले फटहा, उच्छृङखलको सज्ञा दिएका थिए । त्यसको केहिदिन नबित्दै पालिकाकै एकजना युवकले आफ्नो आमाको एकल महिला भत्ता बुझ्न कार्ड नविकरण विषयमा फोन गरी जानकारी लिन खोज्दा एकल महिलाले ५० जना केटा लिएर हिड्छन्लगायतका अपशब्द बोलेर एकल महिलाको अपमान गरेका थिए ।

गाउँपालिका कार्यालय भित्र पनि उनले कर्मचारीहरुलाई त, तिमीलगायतका शब्दहरुको प्रयोग गरेर बोलाउने, धम्काउने जस्ता गतिविधिले कर्मचारीहरु समेत अध्यक्ष राउतबाट पीडित हुँदै आएका छन् । विकासे योजनामा कमिसन लेनदेनको कुरा उनको लागि सामान्य भएको उपभोक्ता समितिहरुकै गुनासो रहँदै आएको छ । राउत गएको स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट विजयी भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top