ताजा समाचार


किसानले घर भित्र्याउन लागेको बालीमा मन्त्री साहको निर्देशनमा डोजर चलाइयो

द रियल समाचार     २०७७ फाल्गुन १८, मंगलवार, १८: ४३ मा प्रकाशित




जनकपुरधाम । रौतहटको मौलापुर नगरपालिकाले शिवरात्री पर्वको अवसरमा यहि फागुन २७ गते मौलापुर महोत्सवको आयोजना गर्न लागेको छ ।

मौलापुर नगरपालिका वडा नम्बर वड़ा ५ मा महाशिवरात्रि पर्वको अवसरमा आयोजना गर्न लागिएको महोत्सवका लागि किसानका गहुँवाली नष्ट गरिएको देखिएको छ ।

खाद्यान्न ऐन बमोजिम यसरी कुनै किसानको बाली नष्ट गर्नु दण्डनीय रहेपनि महोत्सवका लागि ३ बिघामा लगाइएको गहुँबाली शहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा नष्ट गरिएको हो । मेला लगाउनकै लागि किसानले लगाएको गहुँ बालीमा मन्त्री साहको निर्देशनमा डोजर चलाइएको स्थानीय किसानको आरोप छ ।

मेला आयोजना गर्ने मिति पहिले नै तय गरिएपनि निर्धारित स्थानमा मेलाको आयोजना नगरी बाली लगाइएको स्थानमा समितिले मेला लगाउन लागेको मौलापुर नगरपालिका वडा नम्बर ५का ३५ वर्षीय किसान कृष्ण साहले बताए । उनले भने, ’यसअघि तय भएको स्थानमा समेत हाम्रो खेत थियो त्यहाँको करीब सात कट्ठा जग्गा पर्ति नै राख्यौ र यहाँको चार कट्ठा खेतमा बाली लगाएका थियौ । अबको करिब १० देखी १५ दिनमा हामी गहुँबाली काटने तरखरमा थियौं तर अन्तिम समयमा आएर समितिले हाम्रो मिहिनेतमाथी बज्रपात गरिदियो ।’

उनले अहिलेसम्ममा ४ कट्ठा खेतमा लगाएको बालीमा १० देखी १५ हजार खर्च भएपनि आयोजकले क्षतिपूर्तिको नाममा ५ हजार रुपैयाँ थमाई दिएको गुनासो गरे । उनले भने, ‘हामीले सुरूमा बाली नकाट्नुस, बरु पहिले जून स्थानमा मेलाको आयोजन हुने बाला थियो त्यही गएर मेला लगाउनु भनेका थियौं । तर, वहाँहरुले हाम्रो आग्रह नमानि उल्टै खेत उपलब्ध नगराए मुआब्जा समेत उपलब्ध नगराई बाली नै नष्ट गरी मेला लगाउने धम्की दिनुभयो ।’

उनले आयोजकले एक कट्ठाको अढाई हजार रुपैया उपलब्ध गराउने भनेको छ जसमा पाँच हजार बालीमा डोजर लगाउनु भन्दा पहिल्यै दिइएको छ भने बाँकी रहेको पाँच हजार मेला सकिए पछि दिइने छ । अर्का एक पीडि़त महिलाले भनिन्, ‘मन्त्रीजीले घरमा आएर भन्नुभएको थियो महाशिवरात्रिमा मेला लाग्छ, उक्त स्थानमा भएका खेतहरुमा बाली नलगाउनु होला । त्यसैले हामीले सो स्थानमा बाली लगाएनौँ तर जहाँ बाली लगाएनौँ त्यहाँ मेला लगाईएन र बाली लगाएको ठाउँमा आएर मेला लगाउन लाग्दा हाम्रो मिहिनेत र पैसा दुबै डूबेको छ ।’

यता मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनादेवी साहले किसानको गहुँबाली नष्ट भएकोमा नगरपालिकाले क्षतिपूर्ति उपलब्ध गराएको प्रतिक्रिया दिएकी छन् । उनले भनिन्, ‘हामीले अघिल्लो वर्ष पनि त्यही स्थानमा मेलाको आयोजन गरेका थियौं र यसवर्ष पनि त्यही आयोजन गर्न लागेका हौं ।’ यसमा किसानको बाली नालीको के कति क्षति भएको छ त्यो बुझेर हाम्रो नगरपालिकाले क्षतिपूर्ति उपलब्ध गराउनेछ ।’

नगरप्रमुख साह शहरी विकास मन्त्री प्रभु साहको श्रीमती हुन् । मेलाको आयोजना मौलापुर नगरपालिकाले गर्न लागेको छ । मौलापुर नगरपालिकास्थित महादेव मन्दिरमा भारतीय भोजपुरी जगतको नायिका अक्षरा सिंहलाई फागुन २७ गते महाशिवरात्रीको उपलक्ष्यमा बोलाइएको छ ।
–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top