काठमाण्डौ । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको छ । टोलीमा केन्द्रिय सदस्य उदय चलाउने ‘दीपक’ सदस्य छन् ।
आजै विप्लव पक्षसँग वार्ता गर्न सरकारी पक्षले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको नाम सार्वजनिक गरेसँगै विप्लव पक्षले पनि विज्ञप्तीमार्फत टोली गठन गरिएको घोषणा गरेको हो ।
सरकारले बनाएको समितिमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन् । सञ्चारमन्त्री पार्वत गुरुङले समूहमाथिको प्रतिबन्ध पनि चाँडै फुकुवा हुने बताएका छन् । समूह हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै २८ फागुन २०७५ मा सरकारले प्रतिबन्ध लगाएको थियो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फुट आएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग वार्ताको प्रयास थालेका थिए । यसअघि पनि सरकारले सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा भूमिगत समूहहरुसँग वार्ता गर्ने भन्दै समिति बनाएको थियो । तर, विप्लव समूहसँग स्पष्ट संवाद हुनसकेको थिएन ।
सरकारले आपराधिक समूह रहेको ठहर गर्दै २ वर्षअघि प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको दललाई अहिले सरकार आफैले पहल थालेर वार्तामा बोलाएको छ ।
प्रतिक्रिया