जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्षलाई यथाशिघ्र पक्राउ गर्नुपर्ने माग गर्दै स्थानीयले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
उनीहरुले अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकाको कार्यालय अगाडी धर्ना समेत दिएका हुन् । अध्यक्ष क्षेत्रीले भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग कमिसन वापत ८ लाख रुपैयाँ लिएका थिए । विभिन्न राजनीतिक दलमा आबद्ध स्थानीय नेताकार्यकर्ता, नागरिक समाज तथा त्यहाँका सर्वसाधारणले भ्रष्ट अध्यक्षलाई पक्राउ गर्न माग गर्दै आन्दोलित भएका हुन् ।
बटेश्वर गाउँपालिकाका हरेक योजनामा अध्यक्ष क्षेत्रीले व्यापक कमिसन लिएको आरोप लगाउँदै उनीहरुले हरेक विकासे योजनाको फाइल नियन्त्रणमा लिई थप अनुसन्धान गर्न समेत अख्तियारसँग माग गरेका छन् । अध्यक्ष क्षेत्रीले भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग ८ लाख रुपैयाँ घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटेको टोलीले घुस रकमसहित गाडी चालक वीरबहादुर मगर र गाडीलाई सोमबार साँझ नियन्त्रणमा लिएको थियो ।
प्रदेश २–०२–०० झ ०००२ नम्बरको कालो रंगको स्कारपियो गाडीमा घुस रकम रहेको सुचनाको अधारमा आयोगको टोलीले सोमबार साँझ गाडीलाई रोक्न लगाउने वित्तिकै गाउँपालिका अध्यक्ष क्षेत्री भने गाडीबाट हामफालेर तत्कालै फरार भएका थिए भने चालकले घुस वापतको ८ लाख रुपैयाँ क्षीरेश्वर नगरपालिका वडा नं. ५ को बाटो छेउमा फ्याकेर भागेका थिए ।
फरार चालक मगरलाई वडा नं. ४ बाट नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ् । अध्यक्ष क्षेत्री भने अझै फरार रहेका छन् ।
अध्यक्ष क्षेत्रीले सबै योजनामा ठेकेदार, उपभोक्ता समिती तथा कर्मचारीलाई थर्काउँदै व्यापक कमिसन अशुल गरिरहेको स्थानीयको आरोप छ ।
प्रतिक्रिया