ताजा समाचार


सर्वोच्चको फैसलाबाट प्रधानमन्त्रीको राजीनामा रोकियो : मन्त्री गुरुङ

द रियल समाचार     २०७७ फाल्गुन १७, सोमबार, १९: १८ मा प्रकाशित




काठमाण्डौ । सञ्चार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले राजीनामाबाट रोक्ने काम सर्वोच्चको फैसलाबाट भएको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले राजीनामा नगर्ने स्पष्ट पार्दै उनले प्रतिनिधिसभाको बैठक आह्वान भइसकेकाले संसदीय प्रक्रियाबाट प्रधानमन्त्री अघि बढ्ने बताए । उनले भने, ‘०७७ फागुन ११ गतेको सर्वोच्च अदालतको परमादेशले सम्माननीय प्रधानमन्त्री केपी शर्मालाई राजीनामा दिनबाट रोकेको छ । बहुमतप्राप्त प्रधानमन्त्रीले राज्य सञ्चालन गर्नु संवैैधानिक र नैतिकताको विषय भएको फैसला गरेको छ ।’

बहुमतप्राप्त संसदीय दलको नेतासँग सरकार बनाउने र राज्य सञ्चालन गर्नेबाहेक अन्य कुनै संवैधानिक विकल्प नै नरहने उनले जिकिर गरेका छन् । ‘चुनावमा जनताबाट बहुमतप्राप्त संसदीय दलको नेताको हिसाबले नियुक्ति भएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् संसदप्रति उत्तरदायी भई तथा राज्य सञ्चालन गर्नु संवैधानिक नैतिकताको विषय पनि हो,’मन्त्री गुरुङले भने, ‘यो सर्वोच्चको फैसला हो । त्यसैले सर्वोच्चको फैसलाले नै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संवैधानिक हिसाबले नैतिकताको हिसाबले जिम्मेवारीबाट भाग्न पाइँदैन ।’

प्रधानमन्त्री ओली नैतिकताका हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्दै उनले प्रधानमन्त्रीको राजीनामा माग गर्नेहरुलाई आफ्नो राजनीतिक पृष्ठभूमि हेरेर राजनीतिबाट नै सन्यास लिन पनि सुझाव दिए ।
–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top