ताजा समाचार


जनता आवास कार्यक्रम अन्तर्गत १२४ परिवारलाई घर हस्तान्तरण, अबिर दलेर खुशीयाली साटासाट

द रियल समाचार     २०७७ फाल्गुन १७, सोमबार, १८: ५६ मा प्रकाशित




जनकपुरधाम । जनता आवास कार्यक्रम अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकामा घरबारविहीन परिवारका लागि निर्माण गरिएका १ सय २४ पक्की घरहरु प्रदेश २ सरकारले सोमबार हस्तान्तरण गरेको छ ।

सोमबार भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल र जनता आवास कार्यक्रमका संयोजक समेत रहेका प्रदेशसभा सदस्य परमेश्वर साहले नवनिर्मित दुई कोठे पक्की घर हस्तान्तरण गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका–२३ लादोबेला र बिन्धीमा ७९, वडा नम्बर–१२ कुवारामपुरमा ४५ र वडा नम्बर–१ मा २४ गरि कुल १२४ घरपरिवारलाई दुई कोठाको पक्की घर हस्तान्तरण गरिएको छ । सङ्घीय सरकारको कार्ययोजनामा परिमार्जन गरेर प्रदेश २ सरकारले छानामा भएको बाँसको ठाउँमा फलामको पाइप, एक नम्बर इँटा तथा भुईँमा माटोको साटो इँटाको सोलिङ्ग गरेको भौतिक पूर्वाधार विकासमन्त्री सोनलले जानकारी दिए ।

प्रदेश २ का डोम, हलखोर, मुसहर तथा मेस्तर जातीलाई अहिलेसम्ममा ४ हजार घर निर्माण गरेर हस्तान्तरण गरिसकिएको उनले बताए । यस कार्यक्रममा तीव्रता दिनका लागि समयमा बजेट निकासाका लागि पनि मन्त्री सोनलले केन्द्र सरकारसँग माग गरे ।

आर्थिक वर्ष २०७५/७६ र ०७६/७७ गरेर दुई आर्थिक वर्षमा धनुषा जिल्लामा ७ सय २४ जनासँग सम्झौता भएकोमा अहिलेसम्म जिल्लामा २ सय ८१ वटा घरको निर्माण भएको र ४ सयको निर्माण जारी रहेको जनता आवास कार्यक्रम धनुषाका संयोजक परमेश्वर साहले जानकारी दिए । उनले सबै घरको निर्माण असार मसान्त भित्रमा सम्पन्न हुने बताए । जनकपुरधाम उपमहानगरपालिका–२४ बसहियामा निर्माणको क्रममा रहेका ३४ वटा घरमाथि अदालतमा मुद्दा परेकाले निर्माण कार्य रोकिएको उनले जानकारी दिए ।

जनता आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर पाएकोमा दलितहरू खुसीले दङ्ग परेका छन् । आफूहरूको वर्षौँदेखिको पक्की घरमा बस्ने चाहना पूरा भएकोमा अत्यन्तै खुसी महसुस भइरहेको लादोवेलाका स्थानीयबासिन्दा छट्टु सदाले बताए । घर निर्माणमा एक नम्बर इँटा, सिमेन्ट, गुणस्तरीय बालुवा, गिट्टी प्रयोग गर्नुका साथै छानामा फलामको पाइप राख्ने काम भएकाले घर टिकाउ रहेको बताउँदै मुसहर जातिका महिला संगिता देवी सदाले अब सुखसँग पक्की घरमा बस्ने रहर पूरा भएको बताइन् ।

वर्षौँदेखि वर्षा तथा हावाहुरीमा निक्कै समस्यामा परेका जनकपुरधाम उपमहानगरपालिका–२३ लादोवेला, विन्धी तथा वडा नम्बर–२४ बसहियाका मुसहर जातिहरु घर पाएर निक्कै खुसी भएका छन् । उनीहरुले आज एक अर्कालाई अबिर दलेर खुशीयाली समेत साटासाट गरेका छन् ।

यसअघि केन्द्र सरकारले नै विपन्न, दलित, लोपोन्मुख, अल्पसंख्यक, मुस्लिम तथा अति सीमान्तकृत जाति र समुदायका लागि निःशुल्क रूपमा आवास निर्माण गर्न जनता आवास कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

०६६/६७ देखि केन्द्र सरकारले कार्यान्वयनमा ल्याएको जनता आवास कार्यक्रम २०७२/७३ देखि प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ । जनता आवास कार्यक्रम अन्तर्गत बनेका घरमा दुईवटा कोठा, बरण्डा र भान्छा कोठा छन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी ,चमेलीदेवी दास ,बरिष्ठ पत्रकार राजेश्वर नेपाली , जसपाका जिल्ला अध्यक्ष प्रमोद यादव , केन्द्रिय सदस्य उमेश मण्डल, रमेश अधिकारी, कुन्ती पाठक, सरिता शर्मा, जोगेन्द्र राय लगायत स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिती रहेको थियोे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top