एजेन्सी । सैनिक शासनविरुद्ध म्यानमारमा जनसंघर्ष उग्र बनेको छ । जारी जनप्रदर्शन दबाउन सेनाले गोली चलाउँदा सात प्रदर्शनकारीको मृत्यु भएको छ ।
आइतबार सडकमा उर्लिएको जनसागरलाई तितरवितर पार्न सेनाले गोली चलाएको थियो । कैयौं घाइते बनेका छन् । अहिले म्यानमारको अवस्था तनावग्रस्त बनेको छ ।
सेनाको ‘कू’ पछि म्यानमारमा सेनाविरुद्ध जनप्रदर्शन हुँदै आएको छ । सत्ताविरुद्ध जनता सडकमा उर्लिने क्रम बढेपछि सेनाले आन्दोलन दबाउन बल प्रयोग गरिरहेको छ । गत साता सेनाको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको थियो । नेतृ आङ सान सू चीलाई रिहा गर्न र सत्ता फिर्ता गर्न माग गर्दै सेनाविरुद्ध हरेक दिन प्रदर्शन हुँदै आएको छ ।
म्यानमारको ठूलो शहर रंगुनसहित विभिन्न शहरमा हरेक दिन विशाल जनप्रदर्शन भइरहेका छन् । जनप्रदर्शनमा सहभागीता बढ्न थालेपछि सेनाले आक्रामक रुपमा दबाउने प्रयास गरिरहेको छ । प्रदर्शनकारीलाई तितरवितर पार्न सेना र प्रहरीले पानीको फोहोर फ्याक्नुका साथै रबरको गोली प्रहार गरेका छन् ।
म्यानमारमा गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा आन सान सू चीको पार्टीले बहुमत प्राप्त गरेपछि चुनावमा धाँधली भएको भन्दै सेनाले फेब्रुअरी १ मा सू ची नेतृत्वको सरकार अपदस्थ गरी सत्ता कब्जा गरेको थियो । साथै एक वर्षका लागि संकटकाल घोषणा गरेको छ ।
सू ची सहित अरु थुप्रै नेताहरुलाई सेनाले अझै नियन्त्रणमा लिएको छ । साथै रिहा गर्ने कुनै संकेत देखाएको छैन ।
सेनाको यस्तो कदमप्रति अमेरिका, युरोपेली युनियन सहित थुप्रै देशले विरोध जनाएका छन् ।
प्रतिक्रिया