ताजा समाचार


जनता आवास कार्यक्रम अन्तर्गत १२४ घरपरिवारलाई नवनिर्मित घर हस्तान्तरण गरिदैं

द रियल समाचार     २०७७ फाल्गुन १६, आईतवार, १७: १८ मा प्रकाशित




जनकपुरधाम । जनता आवास कार्यक्रम अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकामा निर्माण गरिएका घरहरु प्रदेश २ सरकारले सोमबार हस्तान्तरण गर्न लागेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ बिन्धीमा ७९ घरपरिवार र वडा नम्बर–१२ कुवा रामपुरमा ४५ घरपरिवार गरि कुल १२४ घरपरिवारलाई नवनिर्मित घर हस्तान्तरण गर्न लागेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले ३ लाख ५० हजारका दरले कुल ४ करोड ३४ लाखको लागतमा निर्माण गरेका १२४ वटा घरहरु विपन्न, दलित, लोपोन्मुख, अल्पसंख्यक, मुस्लिम तथा अति सीमान्तकृत जाति र समुदायका लाई निःशुल्क रूपमा हस्तान्तरण गर्न लागेको भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।

आर्थिक वर्ष २०७२/७३ देखि सुरु भएको जनता आवास कार्यक्रम अन्तर्गत २०७६/७७ सम्ममा प्रदेश २ का आठ जिल्लामा ४ हजार ६४ घर निर्माण भईसकेको जनता आवास कार्यक्रमका संयोजक समेत रहेका प्रदेशसभा सदस्य परमेश्वर साहले बताए । कुल ८ हजार ७४५ घर निर्माणका लागि सम्झौता भएकोमध्ये ४ हजार ६८१ घरको निर्माणकार्य सम्पन्न हुन बाँकी रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश २ का आठवटै जिल्लामा जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण हुने क्रम बढदै गएको मन्त्रालयका सचिव रामआधार साहले बताए । यसअघि केन्द्र सरकारले नै विपन्न, दलित, लोपोन्मुख, अल्पसंख्यक, मुस्लिम तथा अति सीमान्तकृत जाति र समुदायका लागि निःशुल्क रूपमा आवास निर्माण गर्न जनता आवास कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

०६६/६७ देखि केन्द्र सरकारले कार्यान्वयनमा ल्याएको जनता आवास कार्यक्रम २०७२/७३ देखि प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ । जनता आवास कार्यक्रम अन्तर्गत बनेका घरमा दुईवटा कोठा, बरण्डा र भान्छा कोठा तथा छुट्टै शौचालय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top