जनकपुरधाम । आगामी चैत २८ गते हुने जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनलाई लिएर व्यापारीहरु बिच दौडधूप सुरु भएको छ ।
उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मिति घोषणा भएसँगै चुनावी तयारीमा जुटेका व्यापारीहरु अहिले तयारी झनै तीव्र बनाएका छन् ।
अहिले जनकपुरधामका व्यापारीहरु दिनभर आ–आफ्नो काममा व्यस्त देखिएपनि साँझ परेलगत्तै व्यापारीहरुको हुल यही विषयमा छलफल गरिरहेको सहजै देख्न सकिन्छ । व्यापरीहरु गोप्य रुपमै आफ्नो रणनीति तय गर्नमा तल्लिन देखिन्छन् । व्यापारीहरु एक महिना पुर्व देखी नै आफ्ना आफन्त र नातेदारहरुको घर प्रतिष्ठानमा पुगि आफ्नो पक्षमा पहल गरिदिन आग्रह गर्दै आइरहेका छन । उनीहरु यति मात्र नभई मोबाइलमा म्यासेज अथवा फोन गरी समेत सबैलाई आग्रह गर्दै आइरहेको पाइएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघको वर्तमान अध्यक्ष रहेका ललित साह फेरी उम्मेदवारी दिने चर्चा रहेपनि अब आएर उनले आफू उम्मेदवारी नदिने स्पष्ट पारिसकेका छन् । अध्यक्ष पदका लागि जितेन्द्र प्रसाद साह, जितेन्द्र महासेठ, अनिरुद्ध साह, विकास चौधरी लगायतका व्यापारी नेताहरु आकांक्षी देखिएका छन् । यद्यपि अहिलेसम्म कुनैपनि अध्यक्ष पदका उम्मेदवारले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन् । जितेन्द्र प्रसाद साह वर्तमान बरिष्ठ उपाध्यक्ष हुन् भने महासेठ वर्तमान महासचिव ।
अध्यक्ष पदका लागि उम्मेदवारी दिन ईच्छुक उम्मेदवारहरुलाई अब उद्योग वाणिज्य संघको नेतृत्व गर्नु त्यती सहज हुने जस्तो देखिदैन । व्यापारीहरुमा उद्योग वाणिज्य संघप्रति देखिएको वितृष्णा, पछिल्लो समय खस्कदै गईरहेको जनकपुरधामको व्यवसाय, व्यवसायी पलायन लगायतका चुनौतीहरु उनीहरु समक्ष छ ।
जनकपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिएको कारण जनकपुरधाममा व्यापारी नेताहरु पनि छन् भन्ने अनुभूति भईरहेको एक व्यापारीले बताए । उनका अनुसार नेतृत्व पाएपछि व्यापारीहरुको पीडा, मार्कासम्म सुन्ने फुर्सत नरहेको ती व्यापारी नेताहरु मत माग्न आउँछन, दिनमा कयौं पटक कल पनि गर्ने गरेको उनले बताए । कयौँ व्यापारी त उद्योग वाणिज्य संघ बोर्डरमा समातिएका समान छोडाउनु बाहेक केही गर्न नसकेको आरोप समेत लगाउँछन् । यो भ्रमलाई समेत चिर्ने चुनौती व्यापारी नेताहरु समक्ष छ ।
यद्यपि अध्यक्ष पदका ईच्छुक रहेका जितेन्द्र महासेठले व्यापारीहरुको हकहितका लागि काम गर्दै आएको दावी गर्दै आउने दिनमा यसलाई झनै सुधार गर्दै लैजानुपर्नेमा जोडमा दिए । जबकि अर्का आकांक्षी जितेन्द्र प्रसाद साहले व्यापारीहरुमा उद्योग वाणिज्य संघमा पछिल्लो समयमा आएका नेतृत्वप्रति गुनासाहरु रहेको स्वीकार गरे ।
वर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका साह व्यापारीहरुको हुन नसकेको सम्मान गर्दै आफूभन्दा अग्रजहरुको सरसल्लाह लिएर अगाडी बढ्ने आफ्नो धोको रहेको सुनाए । उनले पछिल्लो समय उद्योग वाणिज्य संघमा देखिएको गन्दा राजनीति चिर्ने आफ्नो प्रयास रह्ने दावी गरे ।
वर्तमान महासचिव रहेका महासेठले कोरोना महामारी, एडिवी सडक विस्तारपछि मारमा परेका व्यापारी व्यवसायीहरुको पीडामा मलहम लगाउनकै लागि आफू नेतृत्वमा आउन चाहेको जानकारी दिए ।
संघको सदस्यमा ह्वात्तै बृद्धि
व्यापारीहरुको छाता संगठन जनकपुरधाम उद्योग बाणिज्य संघको निर्वाचनमा गत निर्वाचनको तुलनामा दोब्बर मतदाता थपिने भएको छ । गत निर्वाचनमा २ हजार ५ सय ६४ जनाले मतदान गरेका थिए । यद्यपि यसवर्ष यो संख्या दोब्बरले बृद्धि भएको छ ।
संघको महासचिव महासेठका अनुसार यस वर्ष ५ हजार भन्दा बढी मतदाता रह्ने् जानकारी दिए । निर्वाचन अधिकृत संतोष कुमार साहका अनुसार नविकरण तथा नयाँ फर्म दर्ता गरि तोकिएको समय सिमा सम्ममा कुल ५ हजार ३ सय २८ जना सदस्यले नयाँ दर्ता तथा नविकरणका लागि आवेदन बुझाएको बताए ।
नविकरणमा चलखेल भईरहेको आरोप
अध्यक्ष पदका आकांक्षी रहेका जनकपुरधाम उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साहले उद्योग वाणिज्य संघको नयाँ सदस्यता तथा सदस्यता नविकरणमा व्यापक चलखेल भईरहेको आरोप लगाएका छन् ।
उनले भोट बैंक बनाउनका लागि कयौँ व्यापारी नेताहरु आफै रुपैयाँ खर्च गरेर गाउँ गाउँका व्यापारीहरुको सदस्यता दिदै आईरहेको आरोप लगाए । साहले पछिल्लो चुनावमा २ हजार मात्रै मतदाता रहेपनि यस पटकको निर्वाचनमा भने ५ हजारभन्दा बढी मतदाता रहेकोले यसले नै चलखेल भईरहेको पुष्टी भएको बताए ।
उनका अनुसार नयाँ सदस्यता तथा सदस्यता नविकरणबाट प्राप्त शुल्कको हरहिसाबसम्म पनि नरहेको र कतिपयले लाखौंको चेक मात्रै दिएपनि पैसा भने बैंकमा जम्मा नभएको बताए ।
प्रतिक्रिया