काठमाण्डौ । समाजसेवी डाक्टर शंकरप्रसाद उप्रेतीको ८७ वर्षको उमेरमा आज निधन भएको छ ।
५० वर्षसम्म बिरामीहरूको सेवा गरेका डा. उप्रेती नेपाली कांग्रेस झापाका पुराना नेता एवं राष्ट्रिय सभाका पूर्वसदस्य पनि हुन् । पछिल्ला केही वर्षदेखि अस्वस्थ भएपछि उनी छोरा डा. सञ्जीव उप्रेतीसँग काठमाडौंमा बस्दै आएका थिए ।
भारतबाट एमबीबीएस सकाएर १० वर्ष सरकारी सेवामा काम गरेका डा. उप्रेतीले थप ४० वर्ष झापाको शनिश्चरेमा बसोबास गरी त्यस क्षेत्रका बिरामीहरुको निःशुल्क उपचार गरेका थिए । विसं २०४६ को परिवर्तनपछि कांग्रेसका तर्फबाट ६ वर्षसम्म राष्ट्रियसभाका सदस्य रहेका उप्रेतीले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटकपटक कारागार भोगेका थिए ।
झापा र आसपासका जिल्लामा ‘डाक्टर बा’ नामले चिनिएका उप्रेतीले निःस्वार्थ जनताको सेवा गरेका थिए । उनको दाहसंस्कार आइतबार पशुपतिमा गरिएको छ ।
यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उप्रेतीको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनबाट आफूले एक पुरानो साथी, पार्टीले एक निष्ठावान् अग्रज र समाजले अथक समाजसेवी गुमाएको जनाएका छन् । देउवाले उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
प्रतिक्रिया