ताजा समाचार


मिडिया एक्सन नेपालको अध्यक्षमा सञ्चार विज्ञ पन्त, प्रदेश २ संयोजकमा हदिश

द रियल समाचार     २०७७ फाल्गुन १५, शनिबार, १८: १९ मा प्रकाशित




काठमाण्डौ । अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा सञ्चार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपालको अध्यक्षमा सञ्चार विज्ञ लक्ष्मणदत्त पन्तलाई चयन गरिएको छ ।

शनिवार काठमाण्डौमा सम्पन्न मिडिया एक्सन नेपालको पाँचौ वार्षिक साधारणसभा तथा दोस्रो राष्ट्रिय अधिवेशनबाट पन्तको नेतृत्वमा ७ सदस्यीय कार्य समिति चयन गरिएको हो । त्यसैगरी, उपाध्यक्षमा प्रियंका झा, सचिवमा आरती शिल्पाकार, कोषध्यक्षमा दिपा केसी तथा सदस्यहरुमा यम बहादुर दुरा, गणेश प्रसाद घिमिरे र आशिष मिश्रलाई चयन गरिएको छ ।

संस्थाले ७ वटै प्रदेशमा संयोजक समेत चयन गरेको छ । प्रदेश १ मा नरेन्द्र ढकाल, प्रदेश २ मा हदिश खुद्दार, बागमतिमा मधुसुदन दवाडी, गण्डकीमा सुनिता आचार्य, लुम्बिनीमा सन्जु पौडेल, कर्णालीमा ललित बुढा र सुदुरपश्चिममा उमाकान्त जोशीलाई चयन गरिएको छ । त्यसैगरी, संस्थाको सल्लाहकाहरुमा वरिष्ठ पत्रकार भारतदत्त कोइराला, धुव्रहरी अधिकारी, माधव शर्मा र वरिष्ठ अधिवक्ता एवं प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्णबहादुर कार्की रहेका छन् ।

मानार्थ सदस्यमा अन्तर्राष्ट्रिय विज्ञहरुलाई राखिएको छ । दुबईको खालिफा विश्वविद्यालयकी डा.सादिया जामिल, यूनिभर्सिटी अफ एजुकेसन घानाकी डा.गिफ्टी आपिह अदजेइ, डोगस विश्वविद्यालय टर्कीका प्राध्यापक डा.वारिश कोबान, युनिभर्सिटी अफ पिस भेनेजुयलाका डा.मारिया टेरेसा, किर्गिस्तानको अनलाइन युनिभर्सिटीका अध्यक्ष डा.इलिरा तुरदुभावे, बंगलादेशका प्राध्यापक डा.जुड विलियम जिनिलो र फिलिपिन्सको एसियन एन्स्टिच्युट अफ जर्नालिजम एण्ड कम्युनिकेशनका निर्देशक थेरेसे पार्टिसिया सन डिगो थम्स रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष पन्तले मिडिया एक्सन नेपालले नेपाली मिडिया स्वतन्त्र, निष्पक्ष र उत्तरदायी हुनुपर्ने मान्डेट सहित अघि बढेकाले सोही अनुसार विभिन्न छलफल, अध्ययन अनुसन्धान जस्ता कार्यक्रमलाई निरन्तता दिने बताए । मिडिया क्षेत्रको निती निर्माणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै छलफल तथा अध्ययन अनुसन्धानमा जोड दिने अध्यक्ष पन्तले बताए ।

यसैबीच, मिडिया एक्सन नेपालको दोस्रो राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहमा वरिष्ठ पत्रकार धुव्रहरि अधिकारीले समग्र मिडियाले निष्पक्ष तथ्य समाचारलाई प्राथमिकता दिई समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले मिडियाबाट हुने कमी कमजोरीलाई आत्मसात गर्दै सुधार गर्नुपर्ने बताए ।

यसैगरी प्रेस काउन्सिलका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीले पत्रकारिता क्षेत्रमा विकृति बढ्दै गएको र यसलाई सुधार्नका लागि नियमन गर्ने संस्था बाहेक पत्रकार स्वयंले पनि जिम्मेवारी र उत्तरदायित्व बहन गर्नुपर्ने बताए । मिडिया एक्सन नेपालले पछिल्लो समयमा गरेको मिडिया सम्बन्धी अनुसन्धानले यस क्षेत्रमा सुधार ल्याउन सहयोग पुगेको उनले बताए ।

प्रेस काउन्सिलका प्रमुख कार्यकारी अधिकृत झबिन्द्र भुसालले पत्रकार आचारसंहितामा रहेर काम गर्नुपर्ने भएपनि अहिले पनि मिडिया क्षेत्रमा धेरै भ्रामक र उत्तेजनात्मक सामग्री आउने गरेको बताए ।

राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक सुर्यचन्द्र बस्नेतले मिडियामा आउने सामग्रीले सधैं सूचना मात्र नदिई कहिलेकाहीं समाजमा झनै त्रास फैलाउने गरेको बताए । कोरोना महामारीका बेला अनेक खालका मनोमानी हिसाबले सूचना दिंदा नागरिक त्रसित बनेको भन्दै इन्फोडेमिकको शिकार हुन पुगेको प्रसङ्ग उनले सुनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top