एजेन्सी । हाइटीको जेलबाट २ सय भन्दा बढी कैदी भागेका छन् । भाग्ने क्रममा भएको झडपमा परी २५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जेलका निर्देशक समेत रहेको सञ्चार सचिव फ्रन्टज एक्सान्तुजले शनिबार जानकारी दिए । जेलमा झण्डै ४ सय कैदी रहेका थिए ।
दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ । तीमध्ये ६ जना कैदी नै रहेका छन् भने एकजना जेलका प्रमुख पौल हेक्टर जोसेफ रहेका छन्,’ उनले भने । राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा भागाभाग हुँदा उनीहरुको मृत्यु भएको पनि उनले जानकारी दिए । मृत्यु हुनेमा केही सर्वसाधारण पनि रहेको उनले बताए ।
झण्डै दुई सयजना कैदी भने अझै पनि जेलमै छन् । उनीहरुलाई भाग्न नदिन प्रहरीले धेरै मिहिनेत गरेको सचिव एक्सान्तुजले बताए । जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकाले पनि उनीहरु भाग्न नसकेको उनको भनाइ छ ।
मृत्यु हुनेमा एकजना समूह नाइके अर्नेल जोसेफ पनि रहेका छन् । उनलाई प्रहरीले गोली प्रहार गरेर हत्या गरेको अधिकारीहरुले जनाएका छन् । सुरक्षा कारबाहीका क्रममा उनको मृत्यु भएको प्रहरी अधिकारीहरुले पनि स्वीकार गरेका छन् ।
हाइटीमा जेल तोडफोड भएका र कैदीहरु भाग्ने तथा उनीहरुको मृत्यु भएका घटना बेला–बेलामा हुने गरेका छन् ।
प्रतिक्रिया