जनकपुरधाम । समुदायको भेलाले तत्कालै ५ हजार जरिवाना तिर्नुपर्ने निर्णय गरेपछि धनुषामा एक महिलाले आत्महत्या गरेकी छन् ।
जिल्लाको औरही गाउँपालिका वडा नम्बर–२ देउरी बस्ने रामजीवन यादवकी श्रीमति अन्दाजी ३६ वर्षीया बिनिता देवी यादवले जरिवाना तिर्न नसक्दा आत्महत्या गरेकी हुन् ।
गत बिहीबार दिउँसो सोही ठाउँ बस्ने सुमित्रा देवी यादव र बबिता यादवसँग बिनिता देवी गाउँको छेउमै रहेको ओसराबलाको खेतमा घाँस काट्न गएकी थिईन् । तर, उनीहरुमाथि खेतमा साग टिपेको आरोप लाग्यो । उनीहरुलाई त्यहाँ अरुको खेतमा साग टिपेको भन्दै अन्य महिलाहरुले कुटपिट समेत गरिन् ।
समुदायका माइन्जनसहित सोही वडाका वडाध्यक्ष अमित यादवको अगुवाइमा गाउँमा भेला बोलाइयो । ‘पञ्चायत’ को उक्त भेलाले तत्काल उनीहरुलाई प्रतिव्यक्ति ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय सुनाइएको स्थानीय एक व्यक्तिले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए ।
बिनिता, सुमित्रा र बिनितालाई ५ हजार रुपैयाँ जरिवाना सुनाइयो,’ उनले भने, ‘ भेलाले पीडामा मल्हम लगाउनुको सट्टा उल्टै उनीहरुको परिवारमा थप समस्या थपिदियो । ‘घाँस काट्न गएकी महिलाहरुमाथि साग टिपेको आरोप लाग्नुका साथै कुटपिट समेत गरियो ।
भेलाले केहि उपाय सुझाउला भन्ने लागेको थियो, उल्टै उनीहरुमाथि जरिवाना नै तोकिदियो । र जरिवाना वापतको रकम तत्काकै तिर्न दबाब समेत दिइयो ।’ अगुवाहरुको निर्णयको अगाडि उनको केही सीप चलेन । भेलाले जरिवाना तोकेपछि घर फर्केकी बिनिताले सामाजिक रुपमै आफुलाई अपमान गरिएको र आफ्नो आत्मसम्मानमाथि ठेस पुगेको कुरा सहन नसकेर आत्महत्या गरेको हुनसक्ने उनले बताए ।
शुक्रबार दिउँसो बिनिता आफ्नो घरभित्रै पंखामा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परिन् । यस घटना सम्बन्धमा थप अनुसन्धान पश्चात अन्य कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् ।
यता मृतककी ससुराले आफ्नो बुहारीले आत्महत्या गरेको कुरो सत्य रहेपनि किन आत्महत्या गरेको भन्नेबारे आफूहरुलाई थाहा नरहेको भनी जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दरखास्त दिएको प्रहरी नायब उपरीक्षक मिश्रले बताए । उनका अनुसार ससुराले पोस्टमार्टम मात्रै गरि दिनका लागि जाहेरी दिएका छन् ।
प्रतिक्रिया