काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको पत्तासाफ गरेर नेपाली काँग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउने दाबी गरेका छन् ।
शुक्रबार राति प्राइम टाइम्स टेलिभिजनलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाउने दाबी गरेका हुन् ।
अध्यक्ष प्रचण्डले कांग्रेस सभापति देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग लाग्नै नसक्ने ठोकुवा पनि गर्न भ्याए । प्रधानमन्त्री ओलीले संसदमा नै सामना गर्ने बताइसकेकाले आफूहरुले काँग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर अविश्वासको प्रस्ताव गरेर उनलाई हटाएर विदा गर्ने दाबी समेत गरे ।
उनले भने,‘मलाई प्रधानमन्त्रीको लोभ छैन, म दाबी पनि गर्दिनँ । दुई चार दिनभित्रै हामी यो समस्याको अन्तिम चरणमा पुग्छौं, म देउवाजीलाई प्रधानमन्त्री बनाउँछु । ओलीको पत्तासाफ गर्छु, म प्रधानमन्त्री बन्दिनँ, देउवालाई बनाएर मुलुकलाई अगाडि बढाउँछु ।’
दाहालले कुनै पनि हालतमा प्रधानमन्त्री ओलीलाई संसदबाट अविश्वासको प्रस्तावमार्फत सरकारबाट हटाउने बताएका छन् । उनले आफूले सत्ताका लागि सम्झौता नगरेको जिकिर गर्दै कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर अगाडि बढ्ने दाबी गरे ।
प्रचण्डले केपी ओली प्रवृतिसँग सम्झौता गरेर एकता सम्भव नहुने पनि प्रष्टिकरण दिए । ’अब केपी ओली प्रवृत्तिसँग सम्झौता गरेर पार्टी एकता कायम रहिरहन सक्दैन’, उनले भने, ’सर्वोच्च अदालतले त्यत्रो फैसला गर्दा पनि केपी ओलीमा नैतिकताको ‘न’ पनि देख्न पाइएन ।’
ओलीले संविधानमाथि ठूलो घात गरेको भन्दै प्रचण्डले अब एकताको कुनै सम्भावना नरहेको जिकिर गरे ।
‘मैले एकताको त्यस्तो सम्भावना अब देख्दिनँ । हाम्रो दूरी आन्तरिक थियो । तर पुस ५ गते पार्टीको विवादलाई देखाएर ओलीले संविधानमाथि घात गर्ने गरी संसद विघटन गर्नुभयो’, उनले भने, ’त्यसपछि हाम्रो अन्तरविरोध पार्टीभित्र मात्रै सीमित रहेन। ओलीजीले पश्चाताप नगरेसम्म..तर, उहाँले पश्चाताप गर्नुहुन्न ।’
प्रतिक्रिया