-ज्योति झा
अहिलेको युवा पिढी आत्महत्यातर्फ बढि उन्मुख देखिरहेका छन् । कारण भनेको एउटै हो । त्यो हो मानसिक तनाव ।
अहिले दुर्घटना र रोगहरु भन्दा कयौं गुणा बढी मान्छे मानसिक तनावले गर्दा आत्महत्या गरिरहेका छन् । १० वर्षका बालबालिकादेखि ८० वर्षका बृद्धबृद्धाहरूसम्मले आत्महत्या गरिरहेका छन् । आम मानिसको कुरा त टाढै जाओस, बलिउडका कलाकारहरु पनि आत्महत्याबाट अछुतो छैनन् ।
मेरो मनमा एउटै जिज्ञासा आउँछ ! आखिर किन ? के कारणले गर्दा आत्महत्याको घटना दिनदिनै बढिरहेका छन् । आम मानिसले पैसा, घरायसी समस्या, जागिर र गरीबीले गर्दा हुनसक्छ आत्महत्या गरेका हुन् तर, बलिउडका कलाकार जोसँग न त पैसाको कमी हुन्छ न त पावरको तर उनीहरु पनि किन आत्महत्याको बाटो रोजिरहेका छन् होला ?
के मानिसको जीवन भन्दा ठुलो केहि हुनसक्छ र ? अहिलेको व्यस्त जीवनमा सब आ-आफ्नो काममा व्यस्त हुन्छन् । कसैसँग समय छैन् कसैको कुरा सुन्ने, न त एकछिन मन खोलेर मनको पीडा पोख्ने । आजकाल आमाबुवा पनि आफ्नो काम र जागिरमा व्यस्त भएका हुन्छन् । उनको छोराछोरीको मनमा के कुरा चलिरहेको छ । कुन कुराको उसलाई आवश्यकता होला । उ के गरिरहेको छ । कहाँ जान्छ । आमाबुवालाई केहि पत्तो नै हुँदैन ।
बच्चाहरु आमाबुवाको स्नेह पाउन चाहन्छन् । उनीहरु एक्लो महशुस गर्न पुग्छन् । त्यसैले गर्दा हुनसक्छ उनीहरु मानसिक तनावमा पुग्छन कि ! बृद्ध आमाबुवाहरू पनि आफ्नो सन्तानसँग माया खोजिरहेका हुन्छन् । एकछिन आफ्नो सन्तानसँग बसेर कुराकानी होस् । मनको कुरा पोख्न पाउँ भन्ने चाहना हुन्छ । तर, त्यस्तो केहि नपाएर एक्लोपनले गर्दा सायद आत्महत्याको सोच बनाउँछन् कि !
कतिले त आफूभन्दा बढि अरुलाई माया गरेर ऊसँग पाएको धोकालाई सहन नसकेर पनि आत्महत्या गर्छन् । मैले सोचेअनुसार कतिपय अवस्थामा बच्चाले आफ्नो अभिभावकसँग जिद्दी गरेर मागेको कुनै सामान नपाउँदा समेत आत्महत्याको बाटो रोज्छन् । तर, हामी एकपटक सोंचौं त उनीहरु यस्ता मानसिक तनावमा पुग्नुको कारण के होला ? किन मान्छे आफैले आफैलाई विनाश गर्छन् । त्यति हिम्मत कहाँबाट ल्याउँछन् जसकारण उसले आफैलाई चोट पुर्याउँछ !
मेरो नजरमा त यसको एउटा मात्र कारण छ । माया, प्रेम र समय । भनिन्छ नि शरीरको बलदेखि आत्मबल कयौंगुणा ठुला हुन्छन् । कसैको साथ भएमा मान्छे जतिसुकै ठुलो दु:ख र समस्यासँग जुद्धन सक्छन् । जहाँ प्रेम हुन्छ त्यहाँ खुशी आफै पछाडी लागेर आउँछ । जहाँ मन खुशी हुन्छ त्यहाँ तनावको कुनै कुरै आउँदैन ।
संसारलाई देखाउनु भन्दा बढि मानिसले आफ्नो लागि जिउन सिक्नुपर्दछ । अरुले के भन्छ, के सोच्छ त्योभन्दा बढि आफूलाई के चाहियो, के मा आफ्नो खुशी छ त्यो गर्नुपर्दछ । एउटा अभिभावकले परिवारसँग केहि समय बिताउनुको साथै सन्तानसँग खुलेर उनीहरुको साथी बन्न सक्नुपर्दछ । बच्चालाई राम्रो संस्कार, मिहिनेत र आँट गर्ने क्षमता, सन्तुष्ट हुन सिकाउनु पनि त्यतिकै जरुरी छ ।
कोहि मानिस यस संसारमा अमर छैनन् । आज न भोली यो संसारबाट सबैलाई विदा लिनैपर्ने हुन्छ । हामी यहाँबाट केहि लिएर जाने पनि होईन् । त्यसैले जति दिनको जिवन छ त्यसलाई खुशीले बिताउन सक्नु नै ठुलो कुरा हो ।
प्रतिक्रिया