ताजा समाचार


चैत २८ गते हुने जनकपुरधाम उद्योग बाणिज्य संघको निर्वाचनको चर्चा

द रियल समाचार     २०७७ फाल्गुन १२, बुधबार, १९: १४ मा प्रकाशित




जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन आधुनिक प्रणाली (एभियन मेसीन) बाट हुने भएको छ ।

धनुषा जिल्लाका व्यापारीहरुको नेता चयनका लागि आगामी चैत २८ गते निर्वाचनको मिति तोकिएको छ । साथै सो निर्वाचन गराउनका लागि सुनचाँदी व्यवसायी संतोष साहलाई निर्वाचन अध्यक्ष पदमा चयन गरिएको छ ।

आधुनिक प्रविधिबाट निर्वाचन गराउँदा मतदान गर्नमा बढी समय नलाग्ने र उम्मेदवार घोषणा गर्नमा खसेको मतको आधा घण्टामा मतदाता परिणाम आउने भएकोले एभियन मेसिन रोजिएको साहले बताए । उनले चैत १३ गतेसम्म सदस्यहरुको सदस्यता नविकरण गर्ने मिति जउबा संघले निर्धारण गरेको दिन बितेपछि एकपटक बैठक बसेर यहाँका व्यापारीहरुसँग सुझाब लिने र उनीहरुले देखाएको मार्गमा जाने बताए ।

जउबा संघले निर्वाचनको मिति घोषणा गरेको दिनदेखि विभिन्नपदका उम्मेदवार बन्नको लागि नामहरु बजारमा आईसकेका छन् । जउवा संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साहले अध्यक्ष पदमा उम्मेदवारी दिने सार्वजनिक गरिसकेका छन् । उनले जनकपुरधाम उद्योग वाणिज्य संघको साधारणसभाका दिन नै आफ्नो उम्मेदवारी अध्यक्ष पदमा दिने घोषणा गरेका थिए । यसैगरी पूर्व महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष पद सम्हालिसकेका अनिरुद्ध साह, पूर्व कोषाध्यक्ष विकास चौधरी, वर्तमान महासचिव जितेन्द्र महासेठलगायतकाले पनि अध्यक्षको दावेदारी गर्दैछन् । यसअघि वर्तमान अध्यक्ष ललित साहले पनि इच्छा जाहिर गरेका थिए । पछि उनले नलडने घोषणा गरिसकेका छन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा तीनजनाको नाम आईरहेको छ । त्यसमा जनकपुर जेसीजको अध्यक्ष भईसकेका मनिष रमण साह, जनकपुरधाम उद्योग बाणिज्य संघको उपाध्यक्ष पद सम्हालिसकेका सुरेन्द्र भण्डारीको नामपनि चर्चामा रहेको छ । त्यस्तै प्रशोधित पानीको व्यावसाय गर्दै आएका संजय झाको नाम पनि वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने बजारमा चर्चा भईरहेको छ ।

उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने चर्चामा आएका नामहरुमा पेट्रोल व्यवसायी लक्ष्मण साह, मोटर पार्ट व्यवसायी अम्बु साह, हार्डवेर व्यवसायी संतोष साह, निर्वाण व्यवसायी रमेश यादव र सुनचाँदी व्यवसायी श्याम साह रहेका छन । जउवासंघको विधान अनुसार महिला उपाध्यक्ष पनि रहेको छ । तर, त्यस पदका लागि हालसम्म कसैको नाम चर्चामा आएको छैन ।

महासचिब पदका लागि उम्मेदवारी दिने चर्चा बजारमा ४ जनाको नाम आईरहेको छ । त्यसमा पेट्रोल व्यवसायी सुधिर पंजिया, औषधि व्यवसायी मनोज साह, निर्माण व्यवसायी राम महासेठ र हाल जउवाको कोषाध्यक्ष रहेका अशोक चौधरीको नाम चर्चामा रहेको छ ।

सचिव पदको उम्मेदवारीका लागि चर्चामा आएको नामहरु मध्ये जउवा संघका कार्यकारी सदस्य एवं ग्यास व्यवसायी संघका अध्यक्ष रहेका फुलदेव पण्डित, निर्माण व्यवसायी संतोष महासेठ र रेडिमेड व्यवसायी गोपी साह छन् । त्यस्तै कोषाध्यक्ष पदका लागि २ जनाको नाम चर्चामा रहेको छ । त्यसमा गत निर्वाचनमा कोषाध्यक्ष पदमा पराजित भएका विजय साह रहेका छन । त्यस्तै, अर्का उम्मेदवार परमेश्वर साह रहेका छन् ।

एशोसिएट सदस्य पदका लागि सुनचाँदी व्यवसायी राजिव कुमार साह (चन्दन) को नाम हालसम्म चर्चामा रहेको छ । उनी जउवासंघको एशोसिएट सदस्य पदमा एक कार्यकाल सम्पन्न गर्दैछन् ।

जउवासंघको विधानअनुसार सदस्य पदमा ७ जनालाई चयन गर्नुपर्ने प्रावधान छ । जसमध्ये एकजना महिलाको लागि आरक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top