ताजा समाचार


महोत्तरी घटना अपडेट : शंकास्पद ४ जनासँग सोधपुछ जारी

द रियल समाचार     २०७७ फाल्गुन १२, बुधबार, १८: २८ मा प्रकाशित




जनकपुरधाम । महोत्तरीबाट अपहरणमा परेका एक दम्पतीको खोजविन प्रहरीले तिव्र बनाएपनि अहिलेसम्म घटनामा संलग्न कुनै व्यक्ति पक्राउ पर्न सकेका छैनन् । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर–५ का एक दम्पतीको सोमबार मध्यरातमा अपहरण भएको घटनामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिई सोछपुछ जारी राखेको छ ।

सोमबार राती घरमा सुतिरहेका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गितादेवी झाको अपहरण भएको थियो ।
घटनास्थलको प्रकृति हेर्दा मध्यरातमा पर्खाल नाघेर घरभित्र प्रवेश गरेका अपहरणकारीले झा दम्पतीलाई कुटपिट गरी घिसार्दै लगेको देखिएको छ । उनीहरु सुतेको कोठा वरिपरी रगतको छिटाहरु पनि देखिएको छ । यसकारण दम्पतीको हत्या समेत भइसकेको हो की भन्ने प्रहरीको आशंका छ ।

घरको तल्लो तल्लामा सुतेकी झाकी कान्छी बुहारी उषा झा र नातिनातिनीहरु भने सकुशल रहेका छन् । बुहारी उषाले भनिन्,‘आफू बिहान उठ्दा घरमा रगतका छिटाहरु देखें, बुवाआमा सुतेको ठाउँमा गएर हेर्दा त्यहाँ वहाँहरु दुबैजनालाई नदेखेपछि मैले छिमेकीलाई खबर गरें ।’
छिमेकीले प्रहरीलाई तत्कालै खबर गरेपनि प्रहरी भने डेढघण्टा पश्चात घटनास्थल पुगेको स्थानीयले बताए । घटनास्थलमा महोत्तरीका प्रहरी उपरिक्षक टिकाबहादुर केसी र प्रहरी नायव उपरिक्षक प्रकाश बिष्ट सहितको टोली पुगेर अनुसन्धान गरेका छन् । घटनास्थलमा तालिम प्राप्त कुकर पनि लगिएको थियो ।

आक्रोशित आफन्तले मंगलबार दिनभर हुलाकी राजमार्गको भिठ्ठामोड–जनकपुर सडकखण्डको सहोडवामा चक्काजाम गरी सडक अवरुद्ध गरेका थिए । यता, बेपत्ता दम्पतीको विषयमा प्रहरीले शंकास्पद व्यक्तिहरुसँग सोधपुछ गर्ने कार्य तीव्र पारेको छ । घटना सम्बन्धमा प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले झा दम्पतीबारे अहिलेसम्म केही खुल्न नसकेको बताएका छन् । उनले भने,‘घरबाटै बेपत्ता भएका दम्पतीको खोजी तीब्र रुपमा भइरहेको छ ।

घरमा रहेकी उनको बुहारी र स्थानीयसँग समेत यस विषयमा प्रहरीले सोधपुछ गरिरहेको छ ।’ प्रहरीले ४ जनालाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको उनले बताए । जिल्ला प्रहरी कार्यालय महोत्तरीकका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले घटनामा संलग्न भएको हुनसक्ने आशंकामा दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जानकारी दिए । उनले पक्राउ परेका दुबै प्रहरी रहेको समेत बताए ।

अपहरित मुसाफिर झा मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी हुन् । झा दम्पति मोही जग्गा विवादको मुद्दामा साक्षी बसेको र अदालतमा विचाराधीन रहेको मुद्दाका विपक्षीसँग उनको केहि दिन अघि विवाद भएको स्थानीयले बताए ।
–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top