ताजा समाचार


विश्वभरका ३० हजार कम्प्युटरमा रहस्यमय भाइरस आक्रमण

द रियल समाचार     २०७७ फाल्गुन १२, बुधबार, १७: ३७ मा प्रकाशित




एजेन्सी । विश्वभरका झण्डै ३० हजार एप्पल कम्पनीका कम्प्युटरमा रहस्यमय भाइरस आक्रमण भएको छ ।

सेक्योरिटी कम्पनी रेड क्यानरीका शोधकर्ताहरुका अनुसार झण्डै ३० हजार म्याकमा रहस्यमय भाइरस छिरेको हो । शोधकर्ताहरुका अनुसार उक्त भाइरसको उद्धेश्य के हो भन्नेचाहिँ पत्ता लगाउन सकिएको छैन । एक ब्लगपोष्टमा कम्पनीले हालसम्म सो भाइरसबाट कम्प्युटरमा कुनै पनि खाले हानिकारक कार्यसमेत नभएको जनाएको छ ।

शोधकर्ताले उक्त भाइरसलाई सिल्भर स्प्यारो नाम दिएका छन् । एप्पलको म्याक अपरेटिङ् सिस्टममा आक्रमण गर्ने यसअघिका कम्प्युटर भाइरस भन्दा यो भाइरस फरक देखिएको र आश्चर्यजनक रुपमा हालसम्म यसले डिभाइसमा कुनै पनि असर छैन । यो भाइरसमा सेल्फ डिस्ट्रक्ट मेकानिज्म रहेको छ जुन यसअघि साइबर आक्रमणकारीले प्रयोग गर्ने गरेको देखिएको थिएन । यसले कम्प्युटरमा कस्तो खाले प्रभाव पार्दछ भन्ने पनि हालसम्म प्रष्ट नभएको शोधकर्ता टोनी ल्याम्बर्ट बताउँछन् ।

उक्त भाइरस इन्टरनेट सर्चका क्रममा म्याक कम्प्युटरमा छिरेको हुनसक्ने अनुमान गरिएको छ । शोधकर्ताका अनुसार सिल्भर स्प्यारोमा एप्पलको आफ्नै एम वान चिपमा प्रयोग हुने कोड रहेको हुन्छ । शोधकर्ताका अनुसार यो भाइरसले गत वर्षको अन्त्यतिरबाटै एप्पल कम्प्युटरमा आक्रमण सुरु गरेको हुनसक्छ र फेब्रुअरी १७ सम्ममा विश्वका १ सय ५३ देशका २९ हजार १३९ वटा म्याकमा आक्रमण गरिसकेको छ ।

त्यसमध्ये अमेरिका, बेलायत, क्यानडा, फ्रान्स तथा जर्मनीमा संक्रमणदर उच्च देखिएको छ । यद्यपि विश्वभरमा प्रयोगमा रहेका दशौँ लाख म्याकको तुलनामा यो संख्या निकै कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top