ताजा समाचार


प्रधानमन्त्री ओलीले अविलम्ब राजिनामा दिनुपर्छ : नेता झा

द रियल समाचार     २०७७ फाल्गुन १२, बुधबार, १६: ४३ मा प्रकाशित




जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका केन्द्रिय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीले अविलम्ब राजिनामा दिनुपर्ने बताएका छन् ।

सो समूहले बुधबार जनकपुरधाममा निकालेको विजय जुलुशको कोणसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका झाले प्रधानमन्त्री ओलीलाई इज्जत जोगाउनका लागि पनि राजिनामा दिन सुझाव दिएका हुन् ।

नेता झाले नेपाली जनताले प्रतिगामी शक्तिलाई एक पटक फेरी परास्त गरेर देखाएकोले प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताए । उनले अब नेपाली राजनीतिमा ओलीको कुनै काम नरहेकोले राजनीतिबाट सन्यास लिनुपर्ने सुझाव समेत दिए ।
झाले भने,‘ पार्टीले तपाईंलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ । इज्जत जोगाउन भएपनि राजिनामा दिनुस, बालकोट गएर भूजा फाँक्नुस ।’

उनले ओली जस्तो नेताको नेपाली राजनीतिमा कुनै काम नरहेको समेत बताएका छन् । नेता झाले पार्टीमा चोर डाँका तथा फटाहाहरुको कुनै काम नरहेकोले त्यस्ताहरुलाई पार्टीमा स्थान दिन नहुने बताए । उनले भने,‘नेपाली जनताको यो जीत पछि अब पार्टीलाई एक ढिक्का भएर अगाडी बढाउनु पर्छ, त्यसैले पार्टीबाट चोर, डाँका, फटाहाहरुलाई बाहिरको बाटो देखाउनु पर्छ ।’

नेता झाले प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) लाई समेत दुई दिन भित्र जनकपुरधाम छाडन चेतावनी दिएका छन् । उनले भने,‘ दुई दिनभित्र तपाईं स्वयं जनकपुरधाम छोडेर गईहाल्नुस, नभए हामी कालोमोसो लगाएर लखेटेर भगाउने छौं ।’

कोणसभा अघि दाहाल नेपाल समूहको जनकपुरधामस्थित पार्टी कार्यालयबाट निस्केको विजय जुलुश नगरको विभिन्न भागको परिक्रमा गर्दै जनकचोकमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top