काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना खोप अभियानको पहिलो प्राथमिकताको प्रारम्भीक तथ्यांक सार्वजनिक गरेको छ ।
तथ्यांक अनुसार नेपालमा मंगलबारसम्म कुल जनसंख्याको १ दशमलव ४ प्रतिशत व्यक्तिले खोप लगाइसकेका छन् । अहिलेसम्म कुल जनसंख्या मध्ये ४ लाख २९ हजार ७०५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोज मध्ये ४ लाख २९ हजार ७०५ जनाले खोप लगाएका हुन् । माघ १४ देखि २४ गतेसम्म सञ्चालन भएको पहिलो चरणको खोप अभियान अन्तर्गत १ लाख ८५ हजार ८६५ जना स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शववाहन चालकले खोप लगाएका छन् ।
त्यस्तै, दोस्रो चरणमा माघ २६ देखि ३० गतेसम्म सञ्चालित खोप अभियान अन्तर्गत कुटनीतिक नियोगका कर्मचारी र पत्रकार गरी ३ हजार ४८० जनाले खोप लगाएका छन् भने फागुन २ देखि १० गतेसम्म नापी, जिल्ला प्रशासन कार्यालयलगायतमा काम गर्ने निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी गरी २ लाख ४० हजार ३६० जनाले खोप लगाएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रमण सिंहले जानकारी दिए ।
प्रतिक्रिया