काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् ।
सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।
उनी शीतल निवास पुगेसँगै धेरैले उनको राजीनामा आउन सक्ने आँकलन गरेका थिए। तर उनका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने बताएका छन्।
थापाले सर्वोच्च अदालतले विवादास्पद फैसला गरेको समेत बताए । ‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ’, उनले भनेका छन्, ‘र, यसलाई कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित छ। यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ।’
उनले सर्वोच्चको फैसला कार्यान्वयन गर्न संसदमै प्रधानमन्त्रीले सामना गर्ने बताए। ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ’, उनले भने, ‘तत्काल राजीनामा दिनुहुन्न ।’
-फरकधार
प्रतिक्रिया