काठमाण्डौ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेलगायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा ल्याइएको छ ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन् । उनले यो टेलिभिजन नेपालमै पहिलो फोरके प्रविधिमा आधारित भएको जानकारी दिए ।
न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ सञ्चालन गरेका उनको कार्यक्रम लोकप्रिय रहेको थियो । उनले नयाँ टेलिभिजन सञ्चालनकै लागि सो संस्थाबाट बाहिरिएका थिए ।
लामिछानेले भने,‘ यो टेलिभिजनले आम सर्वसाधारणको हेडलाइन बनाउनुका साथै भरपूर मनोरञ्जन पनि दिने छ । जतिपनि आम सर्वसाधारण हुनुहुन्छ, जसको मुद्दा ओझेलमा पर्यो ती सर्वसाधारणको मुद्दालाई प्राथमिकतामा राखेर हामी आफ्ना न्यूज र हेडलाइन बनाउँछौं । ’टेलिभिजनको अध्यक्षमा डीबी राई र उपाध्यक्षमा छविलाल बञ्जाडे रहेका छन् भने प्रबन्ध निर्देशक स्वयम् रवि लामिछाने छन् ।
उक्त टेलिभिजन च्यानलले भारतमा चर्चित भएका टेलिभिजन कार्यक्रमलाई समेत नेपालीमा बनाएर चलाउने भएको छ । यो टेलिभिजन च्यानलले ’सारेगमप लिटिल च्याम्प’ चलाउने घोषणा गरेको छ । त्यस्तै भारतमा चर्चित र सफल बनेको हिन्दी रामायणको नेपाली भर्सन पनि चलाउने घोषणा यो टेलिभिजन च्यानलले गरेको हो ।
घोषणा कार्यक्रममा आयोजकले ‘को बन्छ करोडपति’ कार्यक्रम महानायक राजेश हमालले चलाउने बताए । त्यस्तै भारतको सोनी टेलिभिजन च्यानलमा सुपर हिट बनेको ’क्राइम पेट्रोल’ को नेपाली भर्सन पनि चर्चित कलाकार दीपकराज गिरीले चलाउने भएका छन् ।
प्रतिक्रिया