जनकपुरधाम । आफ्नै भतिजालाई अपहरण गरेका काकालाई सिरहा प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका वडा नं. १ डुम्बाखाताका कुलदिप यादव र वडा नं. १५ सुखचैनाका २३ वर्षीय भरोसी यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।
गत माघ २० गते सिरहाको सिरहा नगरपालिका वडा नं.१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव घरबाट बेपता भएका थिए ।
बालक घरबाटै बेपता भएको सूचना प्रहरीमा दिएपछि नेपाल प्रहरीले इन्डियन काउन्टर पार्टससँगको समन्वयमा भारतको बिहार राज्य अन्तर्गत मधुबनी जिल्लाको खाजेडीह भन्ने स्थानबाट माघ २२ गते उद्धार गरेको थियो । अनुुसन्धानको क्रममा अपहरणमा बालकको काकाकै संलग्नता देखिएको र उनकै योजना अनुसार सिरहा नगरपालिका–१५ सुखचैनाका २३ वर्षीय भरोसी यादवले बच्चा उठाई भारतमा लगेर राखेका थिए ।
प्रहरीले दिएको जानकारी अनुसार कुलदिपको बालकको बुबा प्रदीपसँग मनमुटाब थियो । सोही रिसइबी साँध्न बच्चाको अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ । रिसइबी साँध्दै फिरौती वापत केही रकम पनि हत्याउने योजना अनुसार बालकको अपहरण गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुवैजनालाई पक्राउ गरी आइतवार जिल्ला अदालत सिरहाबाट अपहरण तथा शरिर बन्धक मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शर्माले जानकारी दिए ।
प्रतिक्रिया