काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको भोलीदेखि नयाँ दिल्लीमा उपचार सुरु हुन लागेको छ ।
भट्टराईले सोमबार आफ्नो स्वास्थ्य समस्याको विषयमा चिकित्सकसँग परामर्श लिएका छन् । उनको मंगलबारदेखि अस्पतालमा भर्ना भएर उपचार सुरु गरिने भट्टराईका प्रेस संयोजक विश्वदीप पाण्डेले जानकारी दिए । भारतको नयाँ दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा भर्ना भई भट्टराईको स्वास्थ्यको थप परीक्षण हुने र भोलि उनलाई अस्पतालमा भर्ना गरिने पाण्डेले बताए ।
पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराई आइतबार नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली गएका हुन् ।
चिकित्सकहरुले न्युरोइन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेपछि उनी दिल्ली उडेका थिए ।
प्रतिक्रिया