काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बनाएर जुत्ताले हानेका छन् ।
सो समूहको विद्यार्थी संगठन अनेरास्ववियूले नारायणहिटी संग्रहालय अगाडि प्रधानमन्त्री ओलीलाई ‘प्रतिगमन’ को प्रतिक भन्दै जुत्ता प्रहार गरेका हुन् । सो समूहले घोषणा गरेको चौथो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज जुत्ता हान्ने विरोध कार्यक्रम गरेको बताइएको छ ।
’प्रतिगमनविरुद्धका चरणवद्ध कार्यक्रमअन्तर्गत प्रतीक बनाएर जुत्ता हानिएको हो’, अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले भने,‘संसद् विघटन असंवैधानिक छ । कुनैपनि हालतमा हामीलाई स्वीकार्य छैन ।’ सत्ता टिकाउन नारायणहिटीअघि गरेको प्रपञ्चको विरोधमा अनेरास्ववियुले सांकेतिक कार्यक्रम गरेको उनले बताए ।
यसअघि सो समूहले फागुन ६ गते मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेका थिए । दाहाल–नेपाल समूहले फागुन ५ गतेदेखि सुरू गरेको चौथो चरणको आन्दोलनको कार्यक्रम फागुन १५ सम्मलाई घोषणा गरेको छ ।
संघर्ष समितिका सह–संयोजक योगेश भट्टराईले यसअघिका आन्दोलन सफल भएको निचोडसहित अब चौथो चरणको आन्दोलन जारी रहेको बताए ।
प्रतिक्रिया