ताजा समाचार


न्युजिल्यान्ड–अष्ट्रेलियाबिचको पहिलो खेलमा न्युजिल्यान्ड विजयी

द रियल समाचार     २०७७ फाल्गुन १०, सोमबार, १५: ५३ मा प्रकाशित




एजेन्सी । न्युजिल्यान्ड र अष्ट्रेलियाबिचको ५ खेलको टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली न्युजिल्यान्ड विजयी भएको छ ।न्युजिल्यान्डले अष्ट्रेलियामाथि ५३ रनको जित दर्ता गरेको हो ।

न्युजिल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले १७.३ ओभरमा सबै विकेट गुमाउँदै १३१ रन मात्र बनाउन सक्यो । उसका लागि मिचेल मार्सले ४५ रन बनाउनुबाहेक अन्य कुनै ब्याट्स म्यानले उल्लेखनीय योगदान दिन सकेनन् ।

१२.५ ओभरमा काइल जिमिसनले मिचेल स्यांटनरबाट क्याच गराउनुअघि मार्सले ३३ बलमा ५ चौका र २ छक्का प्रहार गरे । एस्टन अगरले २३ र एडम जाम्पाले अविजित १३ रनको योगदान दिए । न्युजिल्यान्डका लागि इस सोढीले ४, ट्रेन्ट बोल्ट र टिम साउदीले २–२ विकेट लिँदा, काइल जिमिसन र मिचेल स्यांटनरले १–१ विकेट हात पारे ।

क्राइस्ट चर्चस्थित हेग्ली ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले खराब सुरुवात गरे पनि डिभोन कोनवेले उत्कृष्ट प्रदर्शन गरेपछि निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८४ रनको योगफल तयार पारेको थियो । १९ रनमा ३ विकेट गुमाएको अवस्थामा चौथो विकेटका लागि डिभोन कोनवे र ग्लेन फिलिप्सले ७४ रनको साझेदारी गरेपछि न्युजिल्यान्डले बलियो योगफल तयार पारेको थियो ।

१२.२ ओरभमा मार्कस स्टोनिसले मिचेल मार्सबाट क्याच गराउनुअघि फिलिप्सले २० बलमा ३ छक्काको मद्दतमा ३० रन प्रहार गरे । ९९ रनमा अविजित रहेका कोनवेले ५९ बलमा १० चौका र ३ छक्का प्रहार गरे । मिचल स्यांटनरले अविजित ७ रनको योगदान दिए । जेम्स निसमले २६ रन बनाए । अष्ट्रेलियाका लागि ड्यानियल साम्स र जाय रिचर्डसनले समान २–२ विकेट हात पार्दा मार्कस स्टोनिसले १ विकेट लिए ।
जितसँगै न्युजिल्यान्डले सिरिजमा १–० को अग्रता बनाएको छ ।

दोस्रो खेल फेबु्रअरी २५ मा युनिर्भसिटी अफ ओटागो ओभलमा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top