पर्सा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मातृभाषा आमाको दूध र अन्य भाषा डेरीको दूध जस्तो रहेको टिप्पणी गरेका छन् ।
भोजपुरी प्रतिष्ठान वीरगञ्जले आयोजना गरेको बहुभाषिक कवि सम्मेलन एवं शिलान्यास कार्यक्रममा उनले मातृभाषा जस्तो आनन्द अरु भाषा बोल्दा नआउने गरेको बताए ।
राउतले भने,‘भोजपुरी भाषामा जस्तो शब्दको भण्डार अन्य भाषामा छैन, कतिपय भोजपुरी शब्द अन्य भाषामा उल्था गर्न सकिँदैन । सँस्कृति, व्याकरण, कला र साहित्य छ । भोजपुरी, मैथिली, अवधी भाषा राज्यको प्राथमिकतामा कहिल्यै परेन, राज्यले त भोजपुरी भाषा, साहित्य, कला सँस्कृतिलाई कसरी अगाडि बढाउने सोचेन, हामीले पनि महत्व दिएनौं ।’
कुनै समुदायको इतिहास मेटाउनु छ भने भाषा सँस्कृति र कलालाई खत्तम पारिने गरेको बताउँदै उनले नेपालमा पनि नेपाली भाषालाई बाहेक अन्य भाषाप्रति राज्यको दृष्टिकोण ठीक नरहेको बताए । उनले प्रदेशमा बोलिने सबै भाषा, सँस्कृति, कला साहित्यको संरक्षणका लागि स्थायी संरचना बनाउने र वीरगञ्जमा भोजपुरी साहित्यका भीष्म पितामहको रुपमा परिचित पण्डित दीपनारायण मिश्रको सालिक बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले आ–आफ्नो भाषाको विकासका लागि त्यही भाषालाई विभिन्न कार्यमा प्रयोग गर्न आग्रह गरेका छन् । सोनलले हिनतावोधभन्दा माथि उठेर भोजपुरी बोलेर आफ्ना कुरा राख्न आग्रह गरे ।
भोजपुरी भाषाको विकासलाई कसैले रोक्न नसकिने बताउँदै उनले जबसम्म भाषा प्रयोगमा आउँदैन, तबसम्म त्यसको विकास नहुने भएकाले भाषालाई अधिकतम प्रयोगमा ल्याउनुपर्ने बताए । ‘केन्द्रिकृत राज्य प्रणालीमा एउटै भाषा, एउटै भेषको नीति थियो,’ उनले भने, ‘गणतन्त्र आएपछि सबै भाषाको विकास हुनुपथ्र्यो तर यस्तो ग्रहण लाग्यो कि भाषाको विकास हुन सकेन ।’ उनले लोकतन्त्र प्राप्तिको लडाइँमा भोजपुरी समाज जहिले पनि अग्र मोर्चामा रहेको उल्लेख गर्दै देशका लागि भोजपुरी भाषी अझै लड्न तयार रहेको बताए ।
प्रतिष्ठानका लागि ५० लाख
वीरगञ्ज महानगरपालिकाले भोजपुरी प्रतिष्ठानका लागि ५० लाख रुपैयाँ छुट्ट्याएको छ । महानगरपालिकाले नै भोजपुरी साहित्यकार उमाशंकर द्विवेदी संयोजकत्वको ९ सदस्यीय भोजपुरी प्रतिष्ठान वीरगञ्ज गठन गरेको थियो । त्यसका लागि वीरगञ्ज महानगरपालिकाले ‘भोजपुरी प्रतिष्ठान ऐन’ नै जारी गरेको छ ।
भोजपुरी भाषालाई सर्व स्वीकार्य, कामकाजी भाषा बनाउन, विद्यालयमा पठनपाठन गराउन तथा कला, भाषा साहित्यको सम्वर्द्धनमा प्रतिष्ठानले काम गर्ने महानगरका नगर प्रमुख विजय कुमार सरावगी बताउँछन् ।
प्रतिष्ठानका लागि डीपीआर अन्तिम चरणमा रहेको बताउँदै उनले सबैको सहयोगले प्रतिष्ठानलाई अघि बढाउने आश्वासन दिए । भोजपुरी साहित्यकार पण्डित मिश्रको स्मृतिमा १ लाख नगद सहितको अन्तर्राष्ट्रिय पुरस्कारको समेत आइतबार घोषणा गरिएको छ । प्रतिष्ठानका अध्यक्ष द्विवेदीले हिन्दी, नेपाली भन्दा भोजपुरी भाषा निकै पुरानो भाषा भएको बताए । कविरदासले भोजपुरीमा कविता लेख्ने गरेको बताउँदै उनले नेपालमा नेपालीलाई स्थापित गर्न राज्यले भोजपुरी, मैथली र अवधी भाषालाई दवाएर राखेको बताए ।
प्रतिष्ठानका लागि वीरगञ्ज महानगरले वडा नं ८ रेल्वे रोडमा १ हजार वर्ग फिटको जमिन उपलब्ध गराएको छ । जसमा प्रतिष्ठानको तीन तले भवन बनाउन लागिएको छ । भवनको भुइँ तला व्यवसायिक प्रयोजनमा भाडामा लगाउने, पहिलो तल्लामा आधा भागमा प्रतिष्ठानका पदाधिकारी कक्ष, विभिन्न विभाग र बैठक हल, दोस्रो तलामा ३ हजार ४ सय वर्गफिटको हल र तेस्रो तलामा नाट्य, संगीत, कला सम्बन्धित संरचना रहने गरी डीपीआर तयार भइरहेको प्रतिष्ठानका सदस्य रितेश त्रिपाठीले जानकारी दिए ।
–अनलाइनखबर
प्रतिक्रिया