जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्ति प्रति आपत्ती जनाएको छ ।
प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
उनले प्रदेश प्रमुखको बर्खास्तीको संघिय सरकारको निर्णयलाई प्रतिगमन र निरंकुशको संज्ञा समेत दिएका छन् । उनले भने,‘प्रदेश प्रमुख बर्खास्तीको निर्णय प्रतिगमन हो । निरंकुशताको प्रमाण हो । यो कदमको हामी भत्र्सना गर्दछौं, विभेदरहित प्रदेश बनाउने आफूहरूको योजनामा संघीय सरकार बाधक बनेको छ ।’
प्रदेश सरकार पिछडिएको समुदायलाई हरेक क्षेत्रमा सहभागी गराउँदै अघि बढिरहेको समयमा त्यही समुदायबाट आएका प्रमुखलाई बिनकारण हटाएर समग्र प्रदेशवासीलाई मर्माहत बनाइएकोले यो निर्णय सरकारलाई स्वीकार नरहेको उनको भनाइ छ । उनले भने,‘परियारलाई यथावत राख्नुपर्छ, त्यसका लागि हामी पहिलो चरणमा संघिय सरकारसँग समन्वय गर्नेछौँ,नमाने प्रधानमन्त्रीविरुद्ध प्रदेश सरकारले आन्दोलन थाल्नेछ ।’
हालसम्म प्रदेश २ मा तेस्रो प्रदेश प्रमुखको रुपमा राजेश झा (अहिराज) नियुक्त भएका छन् ।
प्रतिक्रिया