जनकपुरधाम । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी बैशाख १७ र २७ गते कुनैपनि हालतमा निर्वाचन हुने दाबी गरेका छन् ।
जनकपुरधाममा धनुषा चेम्बर अफ कमर्सको दोस्रो बार्षिकोत्सव तथा तेस्रो साधारणसभा कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले चुनावका लागि तयार हुन सबैसँग आग्रह समेत गरे । उनले भने,‘चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्ने छन् । जनताभन्दा ठूलो न्यायाधीश अरु कोही हुँदैनन् । त्यसैले ताजा जनादेशका लागि सबै तयार हुनुपर्दछ । राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपर्दछ ।’
निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास र समृद्धिको सपना साकार हुने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ । दाहाल–नेपाल समूहतर्फ इङ्गित गर्दै उपप्रधानमन्त्री पोखरेलले आफ्नै पार्टी भित्रका केहि तत्वहरुले सरकारलाई काम गर्न नदिएकोले प्रधानमन्त्री ओलीले संसद विघटन गरि ताजा जनादेशका लागि निर्वाचनमा जाने घोषणा गरेको स्पष्ट गरे ।
उनले भने,‘दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई धक्का मारेर म्युजिकल चेयर जस्तै बस्न खोजेपछि संसद विघटन गरि जनताको बिचमा जाने निर्णय गरियो ।’ उनले नेकपाका अर्का अध्यक्ष प्रचण्ड ३३ वर्ष र माधव नेपाल १५ वर्षसम्म पार्टी प्रमुख बनेर बसेपनि अहिलेसम्म उनीहरुलाई पदकै लोभ रहेको जिकिर समेत गरे । उनले भने,‘हामी युवा पुस्तालाइ नेतृत्व दिन चाहन्छौं तर उनीहरु कुर्सीमै प्राण त्याग्न चाहन्छन ।’
अर्को प्रसङ्गमा बोल्दै उनले धनुषासँगको भारतीय सीमा नाकाहरु खोल्नुपर्ने आवश्यकता रहेकोले जिल्ला सुरक्षा समितिले निर्णय गरि सिसिएमसिलाई जानकारी गराए सरकारले जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा नाका खोलाउन पहल गर्ने प्रतिबद्धता समेत जनाए । जनकपुर–जयनगर रेल्वे सञ्चालनको ठ्याक्कै मिति भन्न नसक्दा पनि चाँडै गुड्ने उनले दाबी गरे ।
उनले भने,‘दिन त भन्न सकिंदैन तर, निर्धक्क रहनुस रेल चाँडै चल्छ । जनशक्ति र कानुन समेत बन्न सकेको छैन । हामी हतार हतारमा कानून तयार पारिरहेका छौं । तपाईंहरु चाँडै रेलमा यात्रा गर्न पाउनु हुनेछ ।’
प्रतिक्रिया