काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब १८ घण्टामात्र खुल्ने भएको छ ।
आगामी चैत महिनाको १५ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टामात्र खुल्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।विमानस्थल सञ्चालनको समय २१ बाट घटाएर १८ घण्टामा सीमित पार्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।
केही मात्र उडानका लागि विमानस्थल सञ्चालनको लागत धेरै बढाउनु उपयुक्त नभएकोले दिनमा १८ घण्टामात्र सञ्चालन गर्ने निर्णय गरिएको विमानस्थल कार्यालयका महाप्रबन्धक प्रताप तिवारीले जानकारी दिए । लकडाउनपछि खुलेको विमानस्थलमा उडान संख्या धेरै नभएको तथा दिउँसोकै समयमा पनि खाली भएकाले अतिरिक्त समय सञ्चालन गरेर लागत नबढाउने उनले जानकारी दिए ।
यो निर्णयपछि राति १२ बजेपछि उडान गर्दै आएका नेपाल एयरलाइन्स, जजिरा एयरवेज, एयर अरेबिया र कतार एयरवेजलाई उडान तालिका व्यवस्थापन गर्न पत्राचार गरिसकिएको प्राधिकरणले जनाएको छ ।
नयाँ व्यवस्था लागू भएसँगै विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्ममात्र खुला हुने छ । २०७५ साल जेठदेखि प्राधिकरणले विमानस्थल सञ्चालन समय बढाएर २१ घण्टा बनाएको थियो ।
प्रतिक्रिया