ताजा समाचार


एक वर्षमा ४८ को हत्या, ४४५ बलात्कारका घटना

द रियल समाचार     २०७७ फाल्गुन ८, शनिबार, १०: ५४ मा प्रकाशित




मकवानपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको तथ्यांकअनुसार बागमती प्रदेशमा यस वर्ष ४८ जनाको हत्या गरिएको उल्लेख छ ।

प्रदेशमा सन् २०२० मा राज्य पक्षबाट एक जना र अन्य पक्षबाट ४७ जना गरी कुल ४८ जनाको हत्या गरिएको तथ्याङ्क सार्वजनिक भएको छ ।

त्यस्तै प्रदेशभर २३५ बालिका र २१० महिलासहित कुल ४४५ जना बलात्कृत भएको घटना प्रकाशमा आएको इन्सेकले जनाएको छ । प्रदेशमा एक वर्षमा ५ जना महिला बेचिएका छन् ।

इन्सेकले दिएको जानकारी अनुसार सो अवधिमा ३४ जना महिलामाथि बलात्कारको प्रयास भएको छ भने ११ वटा यौन दुर्व्यवहार र ५ जना महिलामाथि बेचबिखनको प्रयास भएको छ ।

सन् २०२० मा प्रदेशमा महिलामाथि हुने घरेलु हिंसाका ७० वटा घटना, ८ वटा कथित बोक्सीको आरोप र ७६ वटा बहुविवाहका घटना प्रकाशमा आएको बताइएको छ ।

त्यस्तै सो वर्ष एक जना महिला र ३५ जना पुरुषसहित ३६ जनाको कारागारभित्र मृत्यु भएको छ भने ५ जना अन्य पक्षबाट अपहरणमा परेका छन् । राज्य पक्षबाट ११ वटा आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारका घटना भएका छन् भने २ जना महिला र १५ जना पुरुषमाथि राज्य पक्षले कुटपिट गरेको छ । अन्य पक्षबाट ३ जना महिला र २५ जना पुरुष कुटपिटमा परेका छन् ।

एक वर्षमा ६ जना बालक र ८१ जना बालिकासहित कूल ८७ जनामाथि यौन दुर्व्यवहार भएको छ भने ५ जना नवजात शिशुको हत्या हुनुको साथै ८ जना बालिका बेचबिखनमा परेको इन्सेकले जनाएको छ ।

सन् २०२० मा बागमती प्रदेशमा १ हजार ४ सय ९२ वटा मानव अघिकार उल्लङ्घन तथा ज्यादतिका घटना भएको इन्सेकले जनाएको छ । जसमध्ये राज्य पक्षबाट १९ जना महिला र २१९ जना पुरुष गरी कुल २३८ तथा अन्य पक्षबाट ७८२ जना महिला र ७१ जना पुरुष गरी कूल ८ सय ५४ वटा त्यस्ता घटना भएका हुन् ।

यस्तै ३ बालिका बालविवाहको सिकार बनेका छन् भने २ बालकमाथि संस्थागत यातनाका घटना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top