रौतहट । नेपाली काँग्रेसका उपसभापति एवं पुर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसद विघटन असंवैधानिक रहेपनि निर्वाचन भने संवैधानिक रहेको बताएका छन् ।
आज नेपाल प्रेस युनियन रौतहटले चन्द्रपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको रक्षाका लागि प्रतिनिधिसभा आवश्यक रहेको बताए ।
उनले भने, ‘देश, जनता, प्रणाली र संविधानका लागि प्रतिनिधिसभा प्राप्त गर्नु आवश्यक छ । त्यसका लागि दुईवटा संवैधानिक बाटो छ । सर्वोच्चद्धारा संसद पुनस्थापना र निर्वाचनद्धारा प्रतिनिधिसभाको गठन बाहेक अन्य कुनै विकल्प छैन् । यी दुबै विकल्प संवैधानिक छन् । अहिलेको वर्तमान परिस्थितीमा दुबै विकल्पका लागि जनता र राजनीतिक दलहरु तयार हुनुपर्दछ ।’
लोकतन्त्र र संविधानको रक्षाका लागि प्रतिनिधिसभा अत्यन्त आवश्यक रहेको उनले बताए । ‘जनतालाई कुनैपनि हालतमा प्रतिनिधिसभा चाहिन्छ । तर ,प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर जनताको जनादेश एवं मतदाताको मतको अपमान गरेका छन्, ’निधिले थपे ।
नेता निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयन नै नेपाली काँग्रेसको मुख्य एजेण्डा रहेको बताए । उपसभापति निधिले नेपाली काँग्रेसले निर्वाचनमा लाग्नु आफ्नो पहिलो प्राथमिकतामा राखेको बताए । उनले जनता विरोधी र संविधान विरोधी जतिपनि कामहरु भएको छ, त्यसको विरोधमा सबभन्दा बढि विरोध नेपाली कांग्रेसले नै गरेको दावी गरे ।
संसद विघटनविरुद्ध अरु कुनै दल भन्दा बढि राष्ट्रिय रूपमा नेपाली कांग्रेसले नै आन्दोलन तथा विरोधका कार्यक्रमहरु गर्दै आएको उनको जिकिर थियो ।
वर्तमान परिस्थितीको समाधान प्रतिनिधिसभा रहेको जिकिर गर्दै निधिले संसद पुनस्र्थापना र निर्वाचनकै माध्यमले प्रतिनिधिसभाको स्थापना गर्नु दुबै विकल्पका लागि नेपाली काँग्रेस तयार हुनुपर्ने बताए ।
उनले वर्तमान संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीसँग नरहेको समेत स्पष्ट गरे ।
प्रतिक्रिया