काठमाण्डौ । प्रदेश २ का प्रमुख राजेश झाले पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित सपथ समारोह प्रदेश प्रमुख झाले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदेश २ का प्रदेश प्रमुखबाट तिलक परियारलाई बर्खास्त गरी राजेश झालाई नियुक्त गरेसँगै झाले आजै सपथ लिएका छन् । उनको सपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना मात्र सहभागी भएका थिए ।
राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम परियारलाई पदमुक्त र मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राजेश झालाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।
यसैबिच, प्रदेश प्रमुख झाको सपथ ग्रहण समारोहलाई उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले बहिष्कार गरेको स्रोतले जनाएको छ ।
संसद विघटन गर्ने सरकारको कदमप्रति उपराष्ट्रपति पुन र सभामुख सापकोटाले असहमति राख्दै आएका छन् । प्रदेश प्रमुख परिवर्तन गर्ने सरकारको निर्णयप्रति असन्तुष्ट रहेकाले उनीहरु सहभागी नभएको स्रोतले बताएको छ ।
प्रतिक्रिया