जनकपुरधाम । प्रदेश २ को प्रमुखबाट बर्खास्त गरिएपछि निवर्तमान प्रदेश प्रमुख तिलक परियारले सरकारको यस निर्णयबाट आफु दङ्ग परेको बताएका छन् ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने,‘अचानकै यो सरप्राइज्ड निर्णय मन्त्रिपरिषद्ले गरेको छ । राष्ट्रपति कार्यालयबाट मकहाँ पदमुक्त गरिएको पत्र समेत आईपुगेको छ । मलाई यसकोबारेमा अग्रिम कुनै संकेत समेत दिइएको थिएन् ।’ आफ्नो कार्यसम्पादन निर्विवाद रहेको दाबी गर्दै परियारले भने,‘म निष्पक्ष र इमान्दारीका साथ आफ्नो काम गर्दै आइरहेको थिएँ । यो गुट उपगुटको राजनीतिमा मलाई आशंकाको भरमा पदमुक्त गरिएको हो ।’
उनले आशंकाको भरमा नै पदमुक्त गर्न नमिल्ने र यसका लागि तथ्य र प्रमाण आवश्यक रहेको बताए । आफुलाई पूर्व जानकारी हुनुपर्नेमा कुनै जानकारी नै दिईएन्, उनले भने,‘मलाई कुनै किसिमको वार्निङ्ग समेत वहाँहरुले दिनुभएको छैन् । मैले इमान्दारीपुर्वक निष्पक्षता र तटस्थताको भूमिका निभाउँदै आएको थिएँ । पूर्व माओवादीबाट आएको भन्ने कारणले यदि पदमुक्त गरिएको हो भने त्यो अझै दूर्भाग्यपुर्ण छ । म गुट र उपगुटमा अहिलेसम्म कहिंपनि खुलेको छैन् ।’
उनले भने,‘कमसेकम मलाई स्पष्किरण दिने अवसर समेत समय दिनुपर्ने थियो तर त्यस्तो कुनै जानकारी गराइएन त्यसैले कानूनी उपचार खोज्छु । म दलित समुदायको पात्रमाथि सरकारले यसप्रकारको अपर्झट निर्णय गरेपछि सबैलाई सरप्राइज बनाएको छ । यो मेरो व्यक्तिगत मात्र नभई सिङ्गो दलित समूदाय माथिको आक्रमण हो ।’
काठमाण्डौ फर्केपछि अब अदालत जान्छु,‘उनले भने ।
प्रतिक्रिया