कैलाली । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको आज १७ औं दिनमा अन्त्येष्टि गरिएको छ ।
राष्ट्रिय झण्डा ओढाएर भट्टको दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको हो । त्यसअघि सदरमुकाम गोठालापानीबाट महाकाली नदीसम्म शव यात्रा निकालिएको थियो । शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, जनप्रतिनिधि, राजनीतिक दललगायतको सहभागिता थियो । १७ दिनसम्म भागरथीको शव जिल्ला अस्पतालमै राखिएको थियो ।
जिल्ला प्रशासन कार्यालय बैतडीमा शुक्रबार भएको छलफलपछि आफन्तले जिल्ला अस्पताल बैतडीमा रहेको भागरथीको शव बुझेका थिए । हत्याका आरोपितलाई प्रहरीले पक्राउ गरेर थप प्रमाण समेत जुटाएपछि आज आफन्तले शव बुझेर दाहसंस्कार गरेका हुन् । प्रहरीले अभियुक्त दिनेश भट्टलाई बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिसकेको छ । मृतक भागरथीको आफन्त पर्ने दिनेशलाई पक्राउ गरेकोमा परिवारले प्रमाणहरु देखाउनुपर्ने भन्दै यसअघि शव बुझ्न अस्वीकार गरेका थिए ।
तर आरोपीत दिनेशको परिवारका सबै सदस्यहरुसंग बिहिबार एक्लाएक्लै कुरा गर्न लगाइएकोमा सबैका अगाडि दिनेश आफैले बलात्कार र हत्या गरेको स्वीकार गरेका हुन् । दिनेशले आफ्ना बुवासंग समेत ४ घण्टा अलग्गै बसेर कुरा गर्दा सबै घटना आफैले गरेको स्वीकार गरे ।
अभियुक्तले प्रहरी र उनका आफन्तसंग न्यायीक हिरासतमा दिएकै बयानसँग सबै प्रमाणहरु मिल्न गएकाले आज शवको दाहसंस्कार गरिएको मृतकको आफन्तले बताएका छन् ।
प्रतिक्रिया