ताजा समाचार


प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्तिप्रति काँग्रेसको आपत्ति

द रियल समाचार     २०७७ फाल्गुन ७, शुक्रबार, १७: ४७ मा प्रकाशित




जनकपुरधाम । सरकारको सिफारिसमा प्रदेश नम्बर २ का प्रदेश प्रमुखलाई गरिएको बर्खास्ती र नयाँ नियुक्तिको नेपाली काँग्रेसले विरोध एवं भत्सर्ना गरेको छ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिलेसमेत अत्यन्तै गलत र आपत्तिजनक रहेको उल्लेख गरेका छन् ।

अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको उल्लेख छ । आज फेरि त्यही प्रवृति दोर्होयाएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने काम गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त् र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक रहेको विज्ञप्तीमा उल्लेख छ ।

संसद विघटनको असंवैधानिक कदम पश्चात काम चलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्तिजस्ता काम गर्न नमिल्ने पार्टी प्रवक्ता शर्माको भनाइ छ । ‘यसप्रति कडा विरोध जनाउँदै नेपाली कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिन चाहन्छ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top