जनकपुरधाम । पूर्व राष्ट्रपति डा.रामवरण यादवले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लोकतन्त्र संकटमा परेको जिकिर गरेका छन् ।
शुक्रवार नेपाली काँग्रेसका नेता डा.शोभाकर पराजुलीद्वारा लिखित समाजवाद बीपी विचार संग्रह पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै डा.यादवले लोकतन्त्रमाथि ग्रहण लागिसकेको बताए ।
उनले प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्दा राष्ट्रपति समेत साक्षी बस्नु गलत रहेको बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पदीय दायित्वबाट विमुख भई दलीय स्वार्थमा लागेको आरोप लगाए । उनले भने,‘दल विभाजनको अध्यादेश ल्याउनु, राष्ट्रपतिद्वारा त्यसको सदर गरिनु, संवैधानिक परिषदमा आफ्ना मान्छेलाई भर्ती गर्नु लगायतका क्रमिक रुपमा लोकतन्त्रमाथि प्रहार हुँदै आइरहेको र यस्तो परिस्थतिमा निर्वाचनमा जानु भनेको दलहरु आफ्नै टाउको फुटाउन बाहेक केही छैन् ।’
डा.यादवले संविधान जारी गर्ने बखतमा आफूले तराई, मधेश, हिमाल र पहाडलाई मिलाउन खोजेपनि अहिले त्यसलाई विखण्डन गर्न खोजिएको जिकिर समेत गरे ।
कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्रीको कदम लोकतन्त्र, गणतन्त्र र संघीयताको पक्षमा नरहेको बताए । उनले सर्वोच्च अदालतले प्रधानमन्त्रीकै कदमलाई सदर गर्ने हो भने संसद विघटन गर्नुको कानूनी आधार खुलाउनुपर्ने धारणा राखे ।
उनले वर्तमान अवस्थामा निर्वाचन हुने कुनै अवस्था नरहेको भन्दै प्रधानमन्त्रीको कदम विरुद्ध सबै लोकतन्त्र पक्षधर एक भई अघि बढनुपर्ने आवश्यकता रहेको बताए । डा. कोइरालाले वर्तमान समस्याको विकल्प निर्वाचन नभई संसद पुनस्र्थापना रहेको जिकिर गरे । संसद पुनस्र्थापनाका लागि पुनः एक पटक आन्दोलन गर्ने बेला आइसकेको कोइरालाको भनाई थियो ।
प्रतिक्रिया