जनकपुरधाम । आमा बुवाका लागि सन्तान बुढेसकालको लठ्ठी नै हुन्छन् । तर, जब बडो आशा भरोसाका साथ पालन पोषण गरेको सन्तानले नै बुवा आमालाई तिरस्कृत गर्न सुरु गर्छन्, त्यसपछि बुढेसकालको लठ्ठी नै भाँचिएको अनुभूति उनीहरुलाई हुन्छन् ।
सन्तानको तिरस्कारका कारण आफ्नै परिवारबाट बहिष्कृत भएका वृद्ध आमाहरुको आश्रयका लागि जनकपुरधाम वडा नम्बर–८ स्थित जानकी आँखा अस्पतालको छेउमै जानकी वृद्धाश्रम छ । त्यो वृद्धाश्रमले १८ जना वृद्ध आमाहरुलाई सहारा दिएको छ । यद्यपि, आजकल वृद्धाश्रम आफै बेसहारा भएपछि सञ्चालनमा समस्या हुँदै आइरहेको छ ।
वृद्धाश्रमकी सञ्चालक सीता अधिकारीले कुनै निकायबाट आर्थिक सहयोग नभएका कारण उधारोकै भरमा वृद्धाश्रम चलिरहेको बताइन् । उनका अनुसार जानकी वृद्धाश्रममा सहयोगी भावनाका साथ कार्यरत ६ जना कर्मचारीले समेत गत एक वर्षको तलब पाएका छैनन् ।
अधिकारीले भनिन्, ‘तलबको कुरै छोडौँ, गत चैत महिनादेखिको दूध, ग्यास, तरकारी, औषधि आदिको उधारो तिर्न बाँकी नै छ । पहिले संघ सरकारबाटै वृद्धाश्रम सञ्चालनका लागि रकम आउँथ्यो तर प्रदेश सरकार मातहत आएपछि उधारोको चाङ्ग नै बढेको छ ।’ उधारोकै भरमा कहिलेसम्म वृद्धाश्रम चलाउनु पर्छ भन्ने ठेगान नहुँदा बाटो हिड्न पनि गाह्रो भइसकेको अधिकारीले बताइन् ।
‘समाज कल्याण मन्त्रालयमार्फत सञ्चालनमा आएको जानकी वृद्धाश्रमका लागि प्रत्येक वर्ष ६ लाख रुपैयाँ आश्रमको खातामा आउँथ्यो’, अधिकारीले भनिन्, ‘तर, पछि महिला विकास कार्यालयमार्फत बजेट आउन थाल्यो, अब प्रदेश सरकार गठनपछि वार्षिक बजेटको कुरै छोडौँ सहयोग पनि गर्न सकेका छैनन् ।’ प्रदेश सरकार गठन भएपछि आर्थिक वर्ष २०७५ मा ४ लाख रुपैयाँ बजेट छुट्याउनु बाहेक बाँकी वर्षमा बजेट छुट्याउन नसकेको उनले बताइन् ।
मन्त्रालय मात्र नभएर जनकपुरधाम उपमहानगरपालिकालाई समेत पटकपटक सहयोगका लागि आग्रह गरेपनि त्यहाँबाट समेत कुनै सहयोग नपाएको उनले बताइन् । मेयर लालकिशोर साहले नगरसभाबाट पास गर्नुपर्छ भन्दै कुरा टाल्दै आएको उनले दुखेसो सुनाइन् ।
यता, प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकी वृद्धाश्रम सञ्चालनका लागि आफूहरु तत्पर रहेको दावी गरेका छन् । उनले वृद्धाश्रमकै लागि २० लाख रुपैयाँ चालु आर्थिक वर्षमा बजेट छुट्याएको जानकारी दिए । यद्यपि, सो बजेट वृद्धाश्रमको माथिल्लो तल्लाको निर्माणको लागि छुट्याएको हो । वृद्धाश्रम सञ्चालनका लागि आफूहरुले गम्भीरता देखाउने मन्त्री साहको भनाइ छ ।
वृद्धाश्रमको अवस्था
नेपाली कांग्रेसकी नेतृ लीला कोइराला महिला, बालबालिका तथा समाज कल्याणमन्त्री रहेको बेला २०५३ सालमा जनकपुरधाममा जानकी वृद्धाश्रम सञ्चालनमा ल्याइएको थियो ।
जनकपुरधाम वडा नम्बर–१ भानुचोकमा दुई कोठे घर भाडामा लिएर सञ्चालनमा आएको सो वृद्धाश्रम अहिले वडा नम्बर(८ स्थित गुठीको साढे दुई कट्ठा जग्गामा दाताहरुको चन्दा संकलनबाट दुई तल्ले भवन निर्माण भएर सञ्चालन हुँदै आएको छ । सो वृद्धाश्रममा हाल धनुषा, महोत्तरी, सर्लाही, बारा र भैरहवालगायतका जिल्लाका आफन्तबाट बहिष्कृत, सन्तानविहीन सहितका १८ जना बेसहारा वृद्धाहरु आश्रय लिएर बस्दै आएका छन् । तिनीहरुको खानपिन र बिरामी पर्दा औषधोपचार संचालक समितिद्वारा गरिँदै आएको छ ।
वृद्धाश्रममा बस्दै आएकी वृद्धाहरुको स्याहारसुसार र हेरचाहका लागि ६ जना कर्मचारी खट्दै आएका छन । वृद्धाश्रममा खटिने कर्मचारीहरु मध्ये स्विपर साढे सात सय, भाँडाकुँडा माझ्ने व्यक्तिले एक हजार, भान्सेले दुई हजार र स्याहारसुसार गर्ने व्यक्तिको तलब ४ हजार रुपैयाँ मात्र रहेको छ । न्यून तलब रहेपनि गत दुई वर्षदेखि उनीहरुले त्यो पनि पाउन सकेका छैनन् ।
कर्मचारीको तलब, वृद्धाहरुको खानपिन र औषधिलगायतमा मासिक ६० हजार रुपैयाँसम्म खर्च हुँदै आएको छ । गत दुई वर्षदेखिको सहयोग रकम आउन नसकेपछि करिब ७र८ लाख रुपैयाँ बक्यौता रहन गएको छ, जसको ताकेता दिनहुँ आउने गरेको अधिकारीले बताइन् ।संचालक समितिका कोषाध्यक्ष ललित बजाजले वार्षिक एक/डेढ लाख रुपैयाँ बराबरको फलफूल, हर्लिक्स र लत्ताकपडालगायतका सहयोग मारवाडी सेवा समितिलगायतका दाता संस्थाहरुबाट हुँदै आएको बताइन् ।
आमाहरुको व्यथा
जनकपुरधामको जानकी वृद्धाश्रममा आफ्नै सन्तानबाट अपहेलित भएपछि १८ जना आमा आश्रय लिएर बस्दै आइरहेका छन् । अधिकांश आमाको सन्तान, नाति नातिनी छन्, कतिपय निसन्तान पनि छन् ।
‘कोही कोही आमा आफै आश्रममा आउनुहुन्छ भने कोहीलाई प्रहरी प्रशासनले पनि बाटो, गल्लीबाट उद्धार गरेर ल्याउने गरेका छन्,’ आश्रमको स्थापनाकालदेखि नै सञ्चालिकाको रुपमा कार्यरत अधिकारीले भनिन्, ‘आश्रममा रहनुभएका केही आमाहरू भने सन्तान नै नभएका पनि छन् ।’
महोत्तरीको भंगहा नगरपालिका बिर्ता पलासकी ८० वर्षीया आमा देव सुन्दरी देवीको आफ्नो कुनै सन्तान थिएन । पछि उनको देवरले नै सबै जग्गा तथा सम्पत्ति हडपेपछि बाध्य भएर आफूले वृद्धाश्रममा आश्रय लिनु परेको उनले बताइन् । उनले भनिन्, ‘आफ्नै मान्छेले धोखा दिएपछि फेरि त्यो ठाउँ फर्केर जाने इच्छा नै हुँदैन ।’
धनुषाको सबैला नगरपालिकाकी पानो देवी गुप्ता पनि आफ्नो घर फेरि फर्केर जान चाहँदिनन् । उनको सन्तानको राम्रै व्यापार पनि छ । उनी कुलीन परिवारबाट भएपनि सन्तानबाटै अपहेलित भएपछि जानकी वृद्धाश्रममा आश्रय लिन पुगेकी थिइन् । उनको नातिको बिहे हुँदा छोरोले समाजको दवावमा उनलाई घर लिएर गएका थिए । तर, पछि फेरि घरमै छोरो बुहारीले दुःख दिन थालेपछि आफै वृद्धाश्रममा आश्रय लिन आएको उनले बताइन् ।
आमाहरूको दिनचर्या
आश्रममा आउँदा आमाहरूको अवस्था एकदमै नाजुक हुने गर्छ । प्रादेशिक अस्पतालमा उपचार गराएर मात्रै वृद्धाश्रममा ल्याइने गरेको अधिकारीले बताइन् । आश्रममा आइसकेपछि बिस्तारै आमाहरू तङ्ग्रिने गरेको उनको भनाइ छ ।
आमाहरूलाई आश्रममा बस्नका लागि छुट्टाछुट्टै बेड दिइएको छ । बिहान ५ देखि ६ बजेसम्म सबै आमाहरू उठ्ने गर्छन् । नित्य कर्म गरेर बिहानै पूजा पाठ समेत गर्छन् । बिहान ७ बजे चिया दिइन्छ ।
त्यसपछि सबै आमाहरू भजन कीर्तन गर्छन् । बिहान १० बजे दाल, भात र तरकारी सहितको खाना दिने गरिन्छ । फेरि दिउँसो २ बजे उनीहरुलाई चिया दिइन्छ । साँझको खानामा दूध र रोटी तरकारी दिइन्छ ।
–फरकधार
प्रतिक्रिया