ताजा समाचार


पत्नीमाथि एसिड प्रहार गरेका सञ्जीवलाई १५ वर्ष ६ महिना जेल सजायको माग

द रियल समाचार     २०७७ फाल्गुन ७, शुक्रबार, १४: ३१ मा प्रकाशित




जनकपुरधाम । पत्नीमाथि एसिड प्रहार गरेका जनकपुरका सञ्जीव साहलाई १५ वर्ष ६ महिना जेल सजायको माग गरिएको छ ।

सरकारी वकिल कार्यालय धनुषाका न्यायाधिवक्ता सीताराम अर्यालले सञ्जीवविरुद्ध आफ्नो पत्नीमाथि एसिड प्रहार गरी अंगभंग गरेको कसुरमा ५ वर्ष, शरीर कुरूप बनाएको कसुरमा ८ वर्ष र एकीकृत कसुरमा २ वर्ष ६ महिना गरी जम्मा १५ वर्ष ६ महिना कैदसहितको अभियोग दर्ता गराइएको जानकारी दिए । उपचार खर्च र क्षतिपूर्तिसमेत माग गरिएको छ ।

आरतीको मुद्दामा जिल्ला अदालत धनुषामा फागुन १९ गते बकपत्रको मिति तोकिएको प्रदेश सरकारको तर्फबाट निःशुल्क कानुनी सहयोग गरिरहेकी प्रदेश कानुन सहायता अधिकृत रिंकुकुमारी यादवले बताइन् । उनले बकपत्र पछि मात्रै यस मुद्दामा थप अनुसन्धान र न्याय निरूपणको प्रक्रिया अघि बढ्ने जानकारी दिईन् ।

गत कात्तिक २९ लक्ष्मी पूजाको दिन बिहान सञ्जीवले जनकपुरधाम–७ स्थित डेरामा आफ्नो पत्नी आरती साहमाथि एसिड प्रहार गरेका थिए । आरतीको ५ वर्षअघि धनुषा सबैला नगरपालिका–६ का २६ वर्षीय सञ्जीव साहसँग विवाह भएको थियो । तर श्रीमानसँगको सम्बन्ध राम्रो हुन सकेन ।

आफुहरुबिच सम्बन्धविच्छेद हुने भएपछि आफ्नो सौन्दर्यता बिगार्न सञ्जीवले आफुमाथि एसिड प्रहार गरेको आरतीको भनाई छ । आरतीमाथि यसअघि सञ्जीवले पटक पटक करेन्ट लगाउनुका साथै मट्टितेल समेत खन्याएका थिए । एसिड प्रहारबाट आरतीसहित उनकी ३ वर्षीया छोरी रिया साहको समेत हात र टाउकोको केही भाग जलेको थियो ।

उपचारमा सरकारले सहयोग गरिरहेको आरतीको अनुहार करिब ३० प्रतिशत जलेको छ । उनको अनुहारको दाहिने भागको छाला प्रत्यारोपण गरिएको छ । आरतीलाई प्रदेश २ को मुख्य न्यायाधिवक्ताको कार्यालयमा आगामी साउनदेखि जागिर दिने प्रक्रियासमेत अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top