जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकको वर्तमान अन्यौलताबाट सर्वोच्च अदालतले निकास दिने विश्वास व्यक्त गरेका छन् ।
७१ औं प्रजातन्त्र दिवसको अवसरमा आज प्रदेश सरकारले जनकपुरधाममा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सर्वोच्च अदालतले संविधानको रक्षा गर्ने विश्वास व्यक्त गरे ।
उनले भने,‘नेपाली जनताको पटक–पटकको बलिदानीबाट प्राप्त उपलब्धी गुम्ने छैन ।अदालतले यसको रक्षा गर्छ । अहिले अन्यौलताको स्थिति छ । तर,सर्वोच्चले उपलब्धिलाई बचाउँदै अन्यौलता हटाउनेमा म विश्वस्त छु ।’
उनले यस संविधानमा रहेका केही त्रुटीलाई सच्याएर सबैको संविधान बनाउनुपर्छ भन्ने विषयमा मतभेद कायम रहेको र यसका लागि आफुहरु पनि संघर्षमै रहेको बताए ।
मुख्यमन्त्री राउतले संविधानको केहि बुँदामा संशोधनको आवश्यकता रहेपनि यस संविधानले गणतन्त्र, लोकतन्त्र, संघीयता र समावेशितालाई सुनिश्चित गरेको धारणा राखे ।
उनले लोकतन्त्र, गणतन्त्र र संघीयताका लागि आफ्नो ज्यानको आहुति दिने योद्धा र तीनका परिवार अहिले उपलब्धि हराउने चिन्तामा रहेकोले उनीहरुको यस चिन्तालाई हटाउनुपर्ने आवश्यकता रहेको बताए ।
दिवसको अवसरमा स्थानीय जनकचोकबाट प्रभातफेरी समेत निकालिएको थियो ।
कार्यक्रममा प्रदेश प्रमुख तिलक परिया, प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री, प्रमुख सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुख, कर्मचारी, सञ्चारकर्मीलगायतकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया